काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि फैलन सक्ने सङ्क्रामक रोग तथा अन्य स्वास्थ्य समस्या नियन्त्रणका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटको विदुरमा पाँच शय्याको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ।
अस्पतालमा विशेषज्ञ चिकित्सकसहित चौबिसै घण्टा आकस्मिक सेवा, ओपीडी, वार्ड, प्रयोगशाला र औषधि सेवा निःशुल्क उपलब्ध गराइएको छ। बाढीका कारण त्रिशूली अस्पतालसँगको सम्पर्क प्रभावित भएपछि रसुवा, नुवाकोट तथा आसपासका बासिन्दालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले फिल्ड अस्पताल सञ्चालन गरिएको हो।
प्रहरीका अनुसार बाढीपछि प्रदूषित पानी, शव तथा पशुचौपायाको क्षति र प्रतिकूल मौसमका कारण हैजा लगायत सरुवा रोग फैलने जोखिम रहेकाले स्वास्थ्यकर्मीमार्फत सचेतना कार्यक्रमसमेत सञ्चालन भइरहेको छ। प्रभावितको मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्दै मनोपरामर्श सेवा उपलब्ध गराइएको छ।
यसैबीच, बाढीमा हराइरहेका व्यक्ति तथा फेला परेका बेवारिसे शव पहिचानका लागि फिल्ड अस्पताल परिसरबाटै डीएनए परीक्षणसम्बन्धी सेवा पनि सुरु गरिएको छ। हराइरहेका आफन्तको परिवारका सदस्यबाट डीएनए नमुना सङ्कलन गरी पहिचान प्रक्रियामा सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया