ल्यासीक्याप–सिसौल सडक निर्माणमा सेनाको काम सुरु


सुर्खेत । भेरी करिडोरअन्तर्गत उपल्लो डोल्पाको ल्यासीक्याप–सिसौल सडकखण्ड निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले काम सुरु गरेको छ।

सेनाले डोल्पा बुद्ध गाउँपालिकाको धो क्षेत्रमा अस्थायी बेस क्याम्प स्थापना गरी सिसौलतर्फबाट सडक निर्माण अघि बढाएको हो। प्राविधिक प्रमुख सेनानी अमृत पराजुलीका अनुसार २०८३ साउन १७ गतेदेखि निर्माण कार्य सुरु गरिएको हो।

निर्माणका क्रममा सुरक्षा व्यवस्था मिलाउन तथा बटुवा, खच्चड र घरपालुवा जनावरका कारण काममा अवरोध नहोस् भनेर वैकल्पिक बाटो प्रयोगको व्यवस्था गर्न सेनाले जिल्ला प्रशासन र प्रहरीलाई आग्रह गरेको छ।

करिब ३३–३५ किलोमिटर लामो ल्यासीक्याप–सिसौल सडकखण्ड अत्यन्तै भिरालो र कडा चट्टानी भूभागमा पर्छ। निजी निर्माण कम्पनीबाट अपेक्षित गतिमा काम अघि बढ्न नसकेपछि सरकारले गत चैतमा उक्त सडकखण्ड निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो।

सडक निर्माणका लागि आवश्यक उपकरण तथा सामग्री मुस्ताङबाट ल्याएर काम अघि बढाइने सेनाले जनाएको छ। कठिन भूगोलका कारण यसअघि पटक–पटक निर्माण प्रयास भए पनि सडकको ट्र्याक खोल्ने काम प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन।

भेरी करिडोरलाई नेपाल, भारत र चीन जोड्ने रणनीतिक सडकका रूपमा लिइन्छ। ल्यासीक्याप–सिसौल सडक निर्माण सम्पन्न भएपछि उपल्लो डोल्पाका नागरिकलाई यातायात, स्वास्थ्य, शिक्षा तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार