ADVERTISEMENT

अमेरिकी मुद्रास्फीति उच्च, फेडमाथि ब्याजदर बढाउने दबाब


वाशिङ्टन। अमेरिकामा अगस्टको उपभोक्ता मुद्रास्फीति अपेक्षाअनुसार नघटेपछि फेडरल रिजर्भमाथि ब्याजदर बढाउन दबाब बढेको छ। सेप्टेम्बर १५–१६ मा हुने मौद्रिक नीति बैठकले ब्याजदरसम्बन्धी आगामी निर्णय गर्नेछ।

मुद्रास्फीति फेडको २ प्रतिशत लक्ष्यभन्दा माथि रहेकाले मूल्यवृद्धि नियन्त्रण फेडका लागि मुख्य चुनौती बनेको छ। विशेषगरी इन्धनको मूल्यवृद्धिले यातायात, ढुवानी, कृषि तथा अन्य वस्तु तथा सेवाको लागत बढाउने जोखिम देखिएको छ।

फेडका गभर्नर क्रिस्टोफर वालरले मुद्रास्फीतिमा अपेक्षित सुधार नदेखिए ब्याजदर बढाउने पक्षमा जान सकिने संकेत दिएका छन्। यसअघि फेडले संघीय कोषको लक्ष्य दर ३.५० देखि ३.७५ प्रतिशतको दायरामा कायम राखेको थियो।

तर ब्याजदर बढाउँदा घर कर्जा, व्यवसायिक ऋण र उपभोक्ता कर्जाको लागत बढेर आर्थिक गतिविधि सुस्त हुन सक्ने जोखिम पनि छ। त्यसैले फेडले मुद्रास्फीति नियन्त्रण र आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्नुपर्ने अवस्था छ।

फेडको निर्णयले अमेरिकी अर्थतन्त्रसँगै डलरको विनिमयदर, विश्व वित्तीय बजार, अन्तर्राष्ट्रिय पुँजी प्रवाह र विकासशील मुलुकको ऋण लागतमा समेत प्रभाव पार्ने भएकाले आगामी बैठकलाई विश्व बजारले चासोपूर्वक हेरिरहेको छ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार