काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले आज कुशे औँसी पर्व मनाउँदैछन्। यस अवसरमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउने तथा बाबुको मुख हेर्ने परम्परा छ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। कुशे औँसीका दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने मान्यता रहेको छ।
आज छोराछोरीले बाबुलाई मिठाई तथा मनपर्ने परिकार खुवाई सम्मान गर्ने गर्छन्। बाबु नहुनेहरूले भने विभिन्न पवित्र तीर्थस्थलमा पुगेर दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने परम्परा छ।
यसै अवसरमा काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको छ। बिहानैदेखि दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने श्रद्धालुको भीड लागेको छ।

प्रतिक्रिया