सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारेको आरोपमा महिला जेल चलान


काठमाडौं । सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारेर २७ लाख रुपैयाँ असुलेको आरोपमा रामेछापकी ३२ वर्षीया कुसुम गुभाजु पुर्पक्षका लागि कारागार चलान भएकी छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले बुधबार गुभाजुलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। प्रहरीका अनुसार सामाजिक सञ्जालबाट चिनजान भएका ती सरकारी कर्मचारीसँग नजिकको सम्बन्ध बनाएपछि उनीसँग भएका अन्तरंग कुराकानी तथा तस्वीर सार्वजनिक गरिदिने धम्की दिँदै रकम मागिएको उजुरी परेको थियो।

पीडित कर्मचारीले पटकपटक गरी २७ लाख रुपैयाँ दिएको दाबी गरेका छन्। रकम दिएपछि पनि धम्की र माग नरोकिएपछि प्रहरीमा उजुरी दिएको उनको भनाइ छ।

गुभाजुले भने आरोप अस्वीकार गरेकी छन्। उनले कर्मचारीकै प्रस्तावमा आफूहरू सम्बन्धमा रहेको र दिएको रकममध्ये २० लाख रुपैयाँ स्वेच्छाले तथा ७ लाख रुपैयाँ कोठा, खानबस्नलगायत खर्चका लागि दिएको दाबी गरेकी छन्।

गुभाजुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ अन्तर्गत आपराधिक लाभ र विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा मुद्दा चलाइएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार