काठमाडौं । आज अपराह्न ३ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा बाढी–पहिरोपछि जारी खोज तथा उद्धार, राहत तथा पुनःस्थापनासहित नियमित सरकारी एजेण्डासँगै महत्वपूर्ण प्रशासनिक निर्णय हुने भएको छ।
बैठकबाट वरिष्ठ सहसचिव विनोदबहादुर कुँवर सचिवमा बढुवा हुने निश्चित भएको छ। ज्येष्ठताका आधारमा सचिव बढुवाका लागि एकल सिफारिसमा परेका कुँवरलाई मन्त्रिपरिषद्ले बढुवा गर्नेछ।
त्यसैगरी रिक्त रहेको अर्को सचिव पदमा सिफारिस भएका तीन सहसचिवमध्ये पहिलो नम्बरमा रहेका उत्तरकुमार खत्री सचिव बन्ने सम्भावना बलियो रहेको उच्च प्रशासनिक स्रोतले प्रशासनपोस्टलाई जानकारी दिएको छ।
सचिव बढुवाका लागि सिफारिस भएकामध्ये पहिलो नम्बरमा रहेकालाई सचिव बनाउने अभ्यास रहँदै आएकाले खत्रीको बढुवा हुने सम्भावना उच्च रहेको स्रोतको दाबी छ।
आज दुई सचिवको बढुवा भएपछि उनीहरूको पदस्थापन गर्ने क्रममा केही सचिवको जिम्मेवारी हेरफेर तथा सरुवा हुने तयारीसमेत रहेको स्रोतले जनाएको छ।
विशेषगरी प्रदेशमा लामो समयदेखि प्रमुख सचिवको जिम्मेवारीमा रहेका केही सचिवलाई केन्द्रमा ल्याएर आज बढुवा हुने सचिवहरूलाई प्रदेशमा पठाउने तयारी भइरहेको बताइएको छ।
सचिव बढुवापछि पहिलो पदस्थापन प्रदेशको प्रमुख सचिवका रूपमा गर्ने अभ्यास प्रशासनमा रहँदै आएको छ। यद्यपि सरकारले पछिल्लो समय यो अभ्यासलाई तोड्दै सचिव बढुवा भएकै अवस्थामा इन्दु घिमिरेलाई रक्षा सचिवको जिम्मेवारी दिएको थियो। प्रशासन क्षेत्रमा यो जिम्मेवारीलाई भने रुचाइएको छैन् । प्रशासनमा सेनाको सिफारिस हावी हुनु गलत भएको भन्दै आलोचना हुँदै आएको छ । घिमिरेलाई रक्षा सचिवको लागि सेनाले नै सिफारिस गरेको बताइएको छ ।
अहिले विभिन्न महत्वपूर्ण संवैधानिक तथा प्रशासनिक निकायसमेत सचिवविहीन अवस्थामा छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय सतर्कता केन्द्र र महालेखानियन्त्रकको कार्यालयमा सचिव पद रिक्त रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत एक सचिव पद रिक्त रहँदै आएको छ।
बाढी–पहिरोको खोज, राहतदेखि प्रशासनिक निर्णयसम्म
मन्त्रिपरिषद् बैठकमा बाढी तथा पहिरोपछि जारी खोज तथा उद्धार, राहत र प्रभावित क्षेत्रमा राज्यका निकायको परिचालनलगायत विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
त्यससँगै नियमित प्रशासनिक तथा कानुनी एजेण्डामाथि निर्णय हुनेछन्। तर प्रशासनिक वृत्तमा भने आजको बैठकलाई विशेषगरी सचिव बढुवा र त्यसपछिको जिम्मेवारी हेरफेरका कारण चासोका साथ हेरिएको छ।

प्रतिक्रिया