वासिङ्टन । इरानको आणविक कार्यक्रमसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको पिकएक्स माउन्टेनस्थित भूमिगत संरचनामा सन् २०२६ मा निर्माण गतिविधि तीव्र भएको नयाँ स्याटेलाइट विश्लेषणले देखाएको छ।
अमेरिकी थिंक ट्यांक सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) का अनुसार त्यहाँ सुरुङका प्रवेशद्वार मजबुत बनाउने, आन्तरिक सडक निर्माण तथा सुरक्षा संरचना सुदृढ गर्ने काम भइरहेको छ। उक्त संरचना इरानले सेन्ट्रिफ्युज संयोजन, युरेनियम संवर्धन वा अन्य संवेदनशील आणविक गतिविधिका लागि प्रयोग गर्न सक्ने अनुमान गरिएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पिकएक्स माउन्टेनमा सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका छन्। तर पहाडभित्र निकै गहिराइमा रहेको संरचना अमेरिकी हतियारबाट पूर्ण रूपमा नष्ट गर्न सकिनेमा स्पष्टता छैन।
अमेरिकाले गहिरो भूमिगत संरचना भेदन गर्न सक्ने नयाँ पुस्ताको ‘बंकर बस्टर’ विकास गरिरहेको पनि बताइएको छ। यद्यपि पिकएक्स माउन्टेनमा इरानले आणविक सामग्री वा उपकरण सारिसकेको अथवा आणविक गतिविधि सुरु गरिसकेको पुष्टि गर्ने पर्याप्त प्रमाण भने अहिलेसम्म फेला परेको छैन।

प्रतिक्रिया