विपद् उद्धार तथा राहत कोषमा १२ अर्ब नजिक रकम


काठमाडौं । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहानसम्म दुवै कोषमा ११ अर्ब ९५ करोड १७ लाख ५० हजार रुपैयाँभन्दा बढी मौज्दात रहेको छ। यसमध्ये विभिन्न नौवटा वाणिज्य बैंकमा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ र डलर खातामा ३ अर्ब १८ करोड १७ लाख रुपैयाँ रहेको छ।

सरकारले यसअघि रसुवाका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ। भोटेकोशी बाढीपछि निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, व्यवसायी, संघसंस्था र सर्वसाधारणबाट कोषमा सहयोग आउने क्रम बढेको सरकारले जनाएको छ।

संकलित रकमलाई प्रभावित नागरिकको तत्काल राहतसँगै पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा पारदर्शी तथा प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने चुनौती सरकारसामु रहेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार