काठमाडौं । नेकपा एमालेले गत वर्ष २३ र २४ भदौमा भएका घटनालाई लोकतन्त्र, संविधान र राज्यका आधारस्तम्भमाथिको गम्भीर आक्रमण भएको दाबी गरेको छ।
२४ भदौको घटनाको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै एमालेले २३ भदौको प्रदर्शनमा ज्यान गुमाएका युवाहरू तथा कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
एमालेले २३ भदौको शान्तिपूर्ण प्रदर्शनमा आपराधिक समूहले घुसपैठ गरी हिंसा र अराजकता सिर्जना गरेको आरोप लगाएको छ। २४ भदौमा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका महत्वपूर्ण संरचना तथा सार्वजनिक–निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई उसले योजनाबद्ध आक्रमणको संज्ञा दिएको छ।
घटनाको गहिरो छानबिन गरी हिंसा भड्काउन जिम्मेवार व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याउनुपर्ने एमालेको माग छ। साथै, सरकार परिवर्तनका लागि संविधानले निर्धारण गरेको बाटोबाहेक अन्य विकल्प स्वीकार्य नहुने भन्दै एमालेले लोकतान्त्रिक समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ।
एमालेले जेनजी युवाहरूको सरोकार र अपेक्षा सकारात्मक रहेको दाबी गर्दै हिंसा र विध्वंसमा उनीहरूको संलग्नता नरहेको जिकिर गरेको छ। घटनाबाट अन्य तत्वले लाभ लिएको र त्यसकै कारण युवाहरूमा निराशा बढेको उसको निष्कर्ष छ।

प्रतिक्रिया