काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले दुईवटा पुल बगाएपछि मनास्लु र लार्केपास पदमार्गमा तत्काल पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ।
आइतबार जारी सूचनामार्फत प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त पदमार्गमा पदयात्रा नगर्न–नगराउन अनुरोध गरेको हो। बाढीले चुमनुब्री–४ र वडा नं. २ जोड्ने फलामे पुल तथा नामरुङ जंगल जाने बूढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको प्रशासनले जनाएको छ।
पुल बगेसँगै आवागमन प्रभावित हुनुका साथै पदमार्गसमेत जोखिमपूर्ण बनेको छ। प्रशासनले पदयात्री, पर्यटन व्यवसायी तथा पथप्रदर्शकलाई सम्भावित जोखिमबाट जोगिन सूचनाको पालना गर्न आग्रह गरेको छ। साथै, कुनै विपद् वा असामान्य अवस्था आएमा नजिकको सुरक्षा निकाय, प्रहरी चौकी वा स्थानीय तहमा तत्काल जानकारी गराउन अनुरोध गरिएको छ।

प्रतिक्रिया