काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्रीको अनुगमनका क्रममा म्याद गुज्रेका तथा म्याद सकिन लागेका खाद्य सामग्री फेला परेका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा २०८३/०५/१९ गते गरिएको संयुक्त अनुगमनमा काठमाडौंका पाँच स्थानमा राखिएका राहत खाद्य सामग्रीको निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा शहरी विकास तथा भवन निर्माण विभाग, वीरमहलमा Current Chips ३० थान र भुजा २१ बोरा म्याद गुज्रिएको भेटिएको थियो।
त्यस्तै, प्रहरी तालिम केन्द्र सामाखुसीमा चोकोफनका दुई प्याकेट र पाँच किलोको एक प्याकेट चक्की आटा म्याद गुज्रिएको पाइएको थियो। सोही स्थानमा म्याद सकिन दुई दिन मात्र बाँकी रहेका ५९ प्याकेट दालमोठ समेत राहत वितरणका लागि अस्वीकार गरी छुट्टै ‘Expired Zone’ मा राखिएको विभागले जनाएको छ।
राधास्वामी सत्सङ्ग सामाखुसीमा पनि २५ किलोको एक बोरा उसिना चामल म्याद गुज्रिएको भेटिएपछि वितरणका लागि अस्वीकार गरिएको थियो।
अनुगमन गरिएका अन्य राहत खाद्य सामग्रीमा लेबल, ब्याच नम्बर, उत्पादन तथा प्याकेजिङ उद्योगको नाम–ठेगाना र उपभोग्य मिति लगायतका विवरण सन्तोषजनक रहेको विभागले जनाएको छ। राहत खाद्य सामग्री वितरण गर्दा असल वितरण अभ्यास (Good Distribution Practice) पालना गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

ChatG




प्रतिक्रिया