काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालसम्बन्धी आफ्नो ट्राभल एडभाइजरी संशोधन गर्दै नेपाललाई ‘स्तर २—बढी सतर्कता अपनाउनुहोस्’ श्रेणीमा राखेको छ। सेप्टेम्बर ४, २०२६ मा जारी नयाँ सुझावमा रसुवा जिल्लाका केही क्षेत्रलाई भने ‘स्तर ४—यात्रा नगर्नुहोस्’ श्रेणीमा राखिएको छ।
अमेरिकी विदेश मन्त्रालयले रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाकातर्फ यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ। बाढी र पहिरोबाट उक्त क्षेत्रमा ठूलो क्षति पुगेको, यातायात तथा सञ्चार सेवा प्रभावित भएको र खोज, उद्धार तथा पुनःस्थापना कार्य जारी रहेकाले जोखिम उच्च रहेको उसको भनाइ छ।
यात्रा सुझावमा थप बाढी र पहिरोको सम्भावना रहेकाले नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रबाट टाढा रहन भनिएको छ। साथै, नेपाली अधिकारीले जारी गरेका उद्धार, विस्थापन तथा सुरक्षा निर्देशन पालना गर्न र विपद् प्रभावित क्षेत्रमा आफैं प्रवेश नगर्न अमेरिकी नागरिकलाई चेतावनी दिइएको छ।
अमेरिकाले नेपाललाई भूकम्प, बाढी र पहिरोको जोखिममा रहेको मुलुकका रूपमा उल्लेख गर्दै विशेषगरी मनसुन अवधिमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा आकस्मिक उपचार सेवा सीमित हुन सक्ने भन्दै आवश्यक औषधि साथमा राख्न र यात्रा स्वास्थ्य बीमा गर्नसमेत सुझाव दिइएको छ।
नेपाल भ्रमण गर्ने अमेरिकी नागरिकलाई स्थानीय सञ्चारमाध्यमबाट विपद्सम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न तथा आवश्यक परे यात्रा योजना परिवर्तन गर्न पनि आग्रह गरिएको छ।

प्रतिक्रिया