काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियान ११औँ दिनमा प्रवेश गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म १३ हजार ९८ जनाको उद्धार गरिएको छ भने ३०० भन्दा बढी विदेशी नागरिक उद्धार भएका छन्।
बाढीपछि अझै करिब ५ हजार जना बेपत्ता रहेको र १ हजार ३४४ शव फेला परेको मन्त्रालयले जनाएको छ। बेपत्तामध्ये करिब ६ सय जना ३५ देशका विदेशी नागरिक छन्। जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोजीका लागि भारत, चीन र दक्षिण कोरियाका उद्धार टोली नेपाली सेनासँग समन्वय गरी परिचालित छन्।
बाढीबाट ७ हजार ५७० घर, ५५ किलोमिटर सडक, ३७ मोटरेबल पुल, ६८ झोलुङ्गे पुल तथा १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। क्षतिका कारण ७८३ मेगावाट विद्युत् उत्पादन क्षमता प्रभावित भएको छ।
सरकारले खोज, उद्धार, राहतसँगै सडक, विद्युत् र सञ्चार सेवा पुनःस्थापनालाई तीव्रता दिएको जनाएको छ। शव पहिचानका लागि नेपालसहित भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीले डीएनए परीक्षण गरिरहेका छन्। विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट राहत तथा उद्धार सामग्री ल्याउन हालसम्म २४ अन्तर्राष्ट्रिय उडानको सहजीकरण गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया