भोटेकोशी बाढीपछि खोज तथा उद्धार तीव्र, ९ हजार ३ सयभन्दा बढी सैनिक परिचालन


काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनासहित सुरक्षा निकायले खोज तथा उद्धार, राहत तथा स्वास्थ्य सेवा तीव्र बनाएका छन्। नेपाली सेनाले विभिन्न प्रभावित क्षेत्रबाट हवाई उद्धारमार्फत हालसम्म १७ जनाको उद्धार गरेको छ।

त्रिशूली–३ ए, त्रिशूली–३ बी, चिलिमे हाइड्रो तथा माथिल्लो त्रिशूली–१ का सुरुङमा संयुक्त टोलीले उपकरण प्रयोग गरी खोज तथा उद्धार कार्य जारी राखेको छ। मैलुङदेखि स्याफ्रुबेंसीसम्म पैदल गस्तीमार्फत समेत खोजी भइरहेको छ।

नुवाकोटको देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ टोलीले ६० मिटर लामो एक्रो ब्रिज निर्माण तीव्र बनाएको छ। सेनाले त्रिशूली र धुन्चेमा सञ्चालन गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म ३ हजार २ सय ६६ जनाले स्वास्थ्य सेवा पाएका छन्।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म ९ हजार ३ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी तथा अवरुद्ध सडक र पुल सञ्चालनमा सहयोग गरिरहेका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार