काठमाडौंमा ग्यास अभाव, बाहिरी उद्योगबाट सिलिण्डर ल्याउने तयारी


काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा देखिएको एलपी ग्यास अभाव समाधान गर्न उद्योगीहरूले वैकल्पिक ढुवानी व्यवस्था थालेका छन्।

नेपाल आयल निगमले उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर काठमाडौं ल्याउन अनुमति दिएपछि खाली सिलिण्डर बाहिरी उद्योगमा पठाई भरिएका सिलिण्डर ट्रकमार्फत उपत्यका ल्याउन थालिएको हो।

सामान्य अवस्थामा दैनिक करिब ४० हजार सिलिण्डर खपत हुने काठमाडौंमा अहिले माग बढेर एक लाख सिलिण्डरसम्म पुगेको व्यवसायीहरूले बताएका छन्। राजधानी नजिकका उद्योगहरूले दुई सिफ्टमा ग्यास भर्ने काम गरिरहेका छन्।

व्यवसायीका अनुसार गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल भित्रिएको छ। ग्यासको आयात नियमित रहेकाले ढुवानी सहज भए केही दिनमै उपत्यकाको ग्यास अभाव हट्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार