काठमाडौं । अमेरिकाको भर्जिनियास्थित स्टेर्लिङमा आयोजित एक कार्यक्रममा रसुवाको भोटेकोशी बाढीपीडितका लागि १० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरिएको छ। दक्षिण एसियाली मूलका अमेरिकीहरूले सञ्चालन गरेको गैरनाफामूलक संस्था बिदेश फाउन्डेसन र नेपाली संस्था ग्लोबल फेमिली फाउन्डेसनको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।
बिदेश फाउन्डेसनका अधिकारीहरूले तत्कालै दाताबाट सहयोग रकम संकलन गरी यथाशीघ्र नेपाल पठाउने प्रतिबद्धता जनाएका छन्। मीर अली अध्यक्ष र सहेल अहमद कार्यकारी प्रमुख रहेको उक्त संस्थाले बंगलादेशका प्राकृतिक प्रकोप पीडित, महिला तथा बालबालिकाका क्षेत्रमा समेत काम गर्दै आएको जनाइएको छ।
कार्यक्रममा ग्लोबल फेमिली फाउन्डेसनकी राजश्री श्रेष्ठले भोटेकोशी बाढीबाट भएको क्षति र जारी उद्धार तथा राहत कार्यबारे जानकारी गराएकी थिइन्। कार्यक्रमको संयोजन पनि श्रेष्ठले नै गरेकी हुन्।
ग्लोबल फेमिली फाउन्डेसनका सुरेश सापकोटाले बाढीपीडितलाई सहायता वितरणको अवस्थाबारे जानकारी दिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग पठाउन सकिने बताए। सहभागी नेपालीहरूले प्रभावित क्षेत्रका स्थानीय सरकारसँग समन्वय गरी सहायता प्रत्यक्ष पीडितसम्म पुर्याउनुपर्ने धारणा राखेका थिए।
भोटेकोशी बाढीमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीका कारण मानिसहरूको मृत्यु तथा बेपत्ता हुने क्रमसँगै निजी आवास, सरकारी भवन, विद्यालय र विद्युत् आयोजनाहरूमा समेत व्यापक क्षति पुगेको जनाइएको छ।
ChatGPT is AI and c

प्रतिक्रिया