भीमफेदी–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्ने तयारी


काठमाडौं । बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोका कारण यातायात प्रभावित भएपछि प्रदेश सरकारले उक्त सडकको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको हो।

मुख्यमन्त्री किरण थापा मगरले मुख्य राजमार्गमा पटक–पटक हुने अवरोधका कारण हेटौँडा–काठमाडौँ आवागमन प्रभावित हुने समस्या न्यूनीकरण गर्न वैकल्पिक सडकलाई प्राथमिकतामा राखिएको बताउनुभयो।

मुख्यमन्त्री थापासहित भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदमलामासहितको टोलीले बिहीबार सडकखण्डको स्थलगत निरीक्षण गरेको थियो।

मुख्यमन्त्री थापाका अनुसार सडकको मर्मत तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमै प्रदेश सरकारले बजेट विनियोजन गरेको छ। सडकको अवस्थाअनुसार तत्काल आवश्यक मर्मत गरी सवारी सञ्चालनयोग्य बनाउने तयारी रहेको उहाँले बताउनुभयो।

सडक सञ्चालनमा आएपछि हेटौँडा–काठमाडौँ आवागमनका लागि थप विकल्प उपलब्ध हुने र मुख्य सडक अवरुद्ध भएका बेला यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार