भोटेकोशी बाढीमा १,२९३ जनाको शव फेला, ४,८९८ बेपत्ता


काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार २९३ जनाको शव फेला परेको छ भने ४ हजार ८९८ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२१ र नवलपरासी पश्चिममा १९४ वटा छन्। भारतमा फेला परेका १८ शवसमेत नवलपरासी पश्चिममा बुझाइएको प्रहरीले जनाएको छ।

बाढीमा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। हालसम्म १ हजार ३० शवको पहिचान तथा आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। व्यवस्थापन गरिएका शवमध्ये २२२ महिला, ३५५ पुरुष र ४५३ जनाको पहिचान खुल्न सकेको छैन।

शव पहिचानका लागि मृतकका १ हजार २६० र आफन्तका ८४६ गरी २ हजार १०६ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान नभएका १ हजार २६३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत तथा शव व्यवस्थापनका लागि ७ हजार ९१२ प्रहरी परिचालन गरिएको छ। बेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा ३ हजार ६५५ जनालाई राखिएको छ।

प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने, उद्धार तथा खोजी गर्ने र बाढी तथा पहिरोका कारण अवरुद्ध सडक खुलाउने कार्यसमेत जारी राखेको जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार