ल्हासा। चीनको सिजाङ स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई १०० मिटर लम्बाइका दुई वटा बेलिब्रिजका सामग्री हस्तान्तरण गरेको छ।
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको आग्रहअनुसार सिजाङ सरकारले बेलिब्रिजका सामग्री उपलब्ध गराएको हो। महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयका उपमहानिर्देशक ओउयाङ जिबिङले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गर्दै सामग्री आदानप्रदान गरेका थिए।
बेलिब्रिजका सामग्री माथिल्लो मुस्ताङको कोरला सीमा नाका पुगिसकेका छन्। नेपाल पक्षले ती सामग्री आजै बुझ्ने जनाइएको छ।
पुल जडानलाई सहज बनाउन चीनले प्राविधिक जनशक्तिसमेत उपलब्ध गराएको छ। बेलिब्रिजका सामग्रीमा बेलि प्यानल, स्टिफनिङ कर्ड, स्वे ब्रेस, बेलि पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बिम, च्यानल स्टिललगायत सामग्री रहेका छन्।

प्रतिक्रिया