रसुवा बाढीपीडितका लागि चीनबाट २७ टन राहत सामग्री


काठमाडौं । रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितका लागि चिनियाँ संस्था चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) ले २७ टन राहत सामग्री नेपाल ल्याएको छ।

सीएफआरडीको ‘८.२६ नेपाल मडस्लाइड रेस्क्यु अपरेसन’ अन्तर्गत पहिलो चरणको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो। बाढीले बस्ती, सडक, पुललगायतका संरचनामा क्षति पुर्‍याएपछि संस्थाले प्रभावित क्षेत्रमा आपतकालीन राहत तथा मूल्यांकनको काम सुरु गरेको जनाएको छ।

पहिलो चरणमा १७५ त्रिपाल, १ हजार कम्बल, १ हजार न्यानो कपासका कोट, १ हजार आपतकालीन राहत बाकस र ६ हजार मेडिकल प्याकिङ ब्याग ल्याइएको छ। यी सामग्रीको मूल्य १० लाख चिनियाँ युआनभन्दा बढी रहेको सीएफआरडीले जनाएको छ।

नेपाल सरकारको विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गरी राहत सामग्री रसुवाका प्रभावित क्षेत्रमा पठाइनेछ। यस्तै, नुवाकोटमा १४ पाल, ५०० खाद्यान्न प्याकेज, ५०० परिवारका जीवनयापन सामग्री र ५ हजार सौर्य बत्ती उपलब्ध गराउने काम पनि अघि बढाइएको संस्थाले जनाएको छ।

सीएफआरडीले प्रभावित समुदायको आवश्यकता र अवस्थाका आधारमा आगामी दिनमा समेत राहत तथा सहयोग जारी राख्ने जनाएको छ। राहत सामग्री जुटाउन विभिन्न चिनियाँ उद्यम तथा सहयोगी संस्थाले योगदान गरेका छन्।

नेपालमा सीएफआरडीले २०७२ सालको भूकम्पपछि मानवीय सहयोग सुरु गरेको थियो। त्यसयता संस्थाले विपद् व्यवस्थापनसँगै समुदाय विकास, युवा तालिम, स्वच्छ खानेपानी र कृषि विकासका क्षेत्रमा समेत सहयोग गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार