काठमाडौं । मुस्ताङको कोरला नाकाबाट पैठारी भएका सामान अब मुस्ताङ भन्सार कार्यालयमै जाँचपास नगरी काठमाडौंको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने भएको छ।
भन्सार विभागले भन्सार नियमावलीमा तोकिएका सर्त र प्रक्रिया पालना गरी अर्को निर्णय नभएसम्मका लागि आन्तरिक परिवहनको सुविधा दिने निर्णय गरेको हो।
विभागले कोरला नाकाबाट प्रवेश गरेका मालबाहक सवारीका लागि नेचुङ–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुश्मा–पोखरा–दमौली–मुग्लिङ–कुरिनटार–नौबिसे–कलंकी हुँदै चोभार सुक्खा बन्दरगाह पुग्ने रुट तोकेको छ।
उक्त रुटमा समस्या आए मुग्लिङ–नारायणगढ–हेटौंडा–भैंसे–नौबिसे–कलंकी–चोभार हुँदै सुक्खा बन्दरगाह पुग्न सकिने व्यवस्था गरिएको छ। गुडाएर लैजाने नयाँ सवारीसाधनका लागि भने तत्काल हेटौंडातर्फको रुट तोकिएको छ।
रसुवागढी नाका बाढीका कारण प्रभावित भएपछि अहिले मुस्ताङको कोरला नाकालाई वैकल्पिक नाकाका रूपमा प्रयोग गरिँदै आएको छ।

प्रतिक्रिया