लाङटाङमा बनेको ताल तत्काल जोखिमपूर्ण छैन


काठमाडौं । लाङटाङको उत्तरी भेगमा हिमचट्टान खसेर बनेका दुई तालमध्ये अहिले कुनै पनि ताल जोखिमपूर्ण अवस्थामा नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार चिनियाँ टोलीले माथिल्लो तालमा पानीको सतह केही बढे पनि हाल खतराको तहमा नपुगेको जानकारी दिएको छ। तल्लो भागमा बनेको तालबाट भने लगभग सबै पानी बगिसकेको र पानी जम्मा नभएकाले जोखिम नरहेको जनाइएको छ।

चिनियाँ टोलीले खोलाछेउको तल्लो ताललाई ‘ब्यारियर लेक वान’ र माथिल्लो ताललाई ‘ब्यारियर लेक टु’ नाम दिएको छ। माथिल्लो ताल करिब ०.१९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको र सतह दुई मिटर बढ्दा करिब ६ लाख घनमिटर पानी जम्मा भएको अनुमान गरिएको छ।

चिनियाँ टोलीले आफ्नो भूभागबाट नेपालको ल्हेन्दे खोला आसपासको अवस्था निरन्तर अवलोकन गर्दै तालको अवस्थाबारे नेपाली पक्षलाई जानकारी गराइरहेको छ।

गत १० भदौमा रसुवा बाढीपछि नेपाल–चीन सीमाना नजिक लाङटाङ हिमालको उत्तरी भागमा दुईवटा ताल बनेका थिए। चार दिनपछि तल्लो ताल फुटेर पानी बग्दा भोटेकोशीमा अर्को बाढी आएको थियो। त्यसपछि तल्लो ताल रित्तिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार