काठमाडौं । नेपालमा ६० वटा अर्थतन्त्रबाट प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिए पनि यसको ठूलो हिस्सा सीमित क्षेत्र र बागमती प्रदेशमा केन्द्रित रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ।
राष्ट्र बैंकको ‘फरेन डाइरेक्ट इन्भेस्टमेन्ट इन नेपाल २०२४/२५’ सर्वेक्षणअनुसार आर्थिक वर्ष २०२४/२५ को अन्त्यसम्म नेपालमा कुल एफडीआई स्टक ३ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। समीक्षा वर्षमा कुल एफडीआई प्रवाह ८ अर्ब ५० करोड रुपैयाँ र लगानी फिर्तापछि खुद प्रवाह ७ अर्ब ५० करोड रुपैयाँ रहेको छ।
नेपालमा सबैभन्दा ठूलो विदेशी लगानीकर्ता भारत रहेको छ। त्यसपछि चीन, आयरल्यान्ड, अस्ट्रेलिया र सिंगापुर प्रमुख स्रोत मुलुकका रूपमा रहेका छन्। क्षेत्रगत रूपमा जलविद्युत् तथा उत्पादनमूलक उद्योगमा विदेशी लगानी बढी केन्द्रित छ भने सेवा क्षेत्रमा वित्तीय तथा बीमा, सूचना तथा सञ्चार, पर्यटन तथा आवास–खाद्य सेवा प्रमुख प्राप्तकर्ता बनेका छन्।
प्रदेशगत रूपमा बागमतीमा विदेशी लगानीको अत्यधिक एकाग्रता देखिएको छ। पूर्वाधार, बजार पहुँच, दक्ष जनशक्ति र प्रशासनिक सहजताका कारण बागमती लगानीकर्ताको प्रमुख गन्तव्य बनेको राष्ट्र बैंकको निष्कर्ष छ।
राष्ट्र बैंकका अनुसार विदेशी लगानी भएका उत्पादनमूलक उद्योगले औसत ५९.४ प्रतिशत क्षमता उपयोग गरेका छन् भने त्यस्ता उद्यमको समग्र नाफा दर ११.२ प्रतिशत रहेको छ। विदेशी लगानी भएका उद्यमको बक्यौता विदेशी ऋण ५६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।
आर्थिक वर्ष २०२४/२५ मा एफडीआई प्रतिबद्धता ६० अर्ब ६० करोड रुपैयाँ पुगे पनि वास्तविक लगानी प्रवाह तुलनात्मक रूपमा न्यून छ। प्रतिबद्धता र वास्तविक लगानीबीचको अन्तर घटाउन लगानी स्वीकृति, जग्गा प्राप्ति, पूर्वाधार र नियामकीय प्रक्रियामा सुधार आवश्यक रहेको राष्ट्र बैंकले औंल्याएको छ।
राष्ट्र बैंकले एफडीआईलाई जलविद्युत्मा मात्र सीमित नराखी सूचना प्रविधि, डिजिटल सेवा, पर्यटन, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र पूर्वाधारतर्फ विस्तार गर्न तथा बागमतीबाहेक अन्य प्रदेशमा समेत लगानीको वातावरण बनाउन सुझाव दिएको छ।
