काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विद्युत् उत्पादन, प्रसारण तथा अन्य विद्युत् पूर्वाधारमा पुगेको क्षतिलाई मध्यनजर गर्दै विद्युत् नियमन आयोगले क्षेत्रीय प्राविधिक कार्यदलको नेतृत्व गर्ने भएको छ।
आयोगका अनुसार दक्षिण एसियाली पूर्वाधार नियमन मञ्चको भारतको मानेसरमा सम्पन्न कार्यसमिति तथा निर्देशक समितिको बैठकले प्राकृतिक विपद्का समयमा विद्युत् प्रणालीको सुरक्षा तथा नियमनसम्बन्धी प्राविधिक अध्ययन गर्न अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा भारत, भुटान, बंगलादेश र श्रीलंकाका नियामक निकायको सहभागिता रहनेछ।
कार्यदलले प्राकृतिक विपद्का बेला अपनाउनुपर्ने नियामकीय मापदण्ड, जोखिम बाँडफाँडको संयन्त्र तथा विपद्का अवस्थामा समेत सीमापार विद्युत् व्यापार निरन्तर राख्ने कार्यविधिसहित साझा क्षेत्रीय नियामकीय खाका तयार गर्न सहयोग गर्ने आयोगले जनाएको छ।
यसैबीच, भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ। आयोगले प्रभावित क्षेत्रमा विद्युत् सेवा सुरक्षित, निरन्तर र शीघ्र पुनःस्थापना गर्न उत्पादन, प्रसारण तथा वितरण संस्थासँग आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।
आयोगले क्षतिग्रस्त विद्युत् संरचनाको प्राविधिक अवस्था, जोखिम तथा पुनःस्थापनाको प्रगतिबारे आवश्यक विवरण उपलब्ध गराउन सम्बन्धित संस्थालाई अनुरोधसमेत गरेको छ।

