काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्को सामना गर्न विपद्पछिको व्यवस्थापनसँगै पूर्वतयारीको संस्कृति विकास गर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभामुख अर्यालले भौगोलिक विविधता र जलवायु परिवर्तनका कारण नेपाल विपद्को उच्च जोखिममा रहेको भन्दै राज्यको ध्यान पूर्वतयारी र जोखिम न्यूनीकरणतर्फ केन्द्रित हुनुपर्ने बताए।
भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरे। खोज तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्वयंसेवकप्रति उनले धन्यवाद व्यक्त गरे।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि र हिमताल विस्फोटको जोखिम बढिरहेको उल्लेख गर्दै सभामुख अर्यालले जलवायुजन्य क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालको मुद्दा बलियो रूपमा स्थापित गर्नुपर्ने बताए।
बाढी प्रभावितको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराउँदै उनले महिला र बालबालिकाको सुरक्षा तथा सेवामा सहज पहुँच सुनिश्चित गर्न आग्रह गरे। साथै, विस्थापितको पुनर्स्थापना, घाइतेको उचित उपचार तथा हिमताल र हिमनदीको नियमित अध्ययन–अनुगमनलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिए।

