काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिने निर्णय गरेको छ।
हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य अवकाशमा जाने भएपछि सरकारले उनको स्थानमा शर्मालाई गृहसचिवका रूपमा ल्याउने निर्णय गरेको हो।
भदौ १३ र १४ गते सार्वजनिक बिदा परेकाले गृहसचिवको जिम्मेवारी सहज रूपमा हस्तान्तरण गर्न सरकारले शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको हो। यद्यपि, भदौ १५ गतेसम्म भने हालका गृहसचिव श्रेष्ठले नै मन्त्रालयको काम सम्हाल्नेछन्।
गृहसचिवमा जिम्मेवारी पाउन लागेका शर्मा प्रशासन र सुरक्षा क्षेत्रका अनुभवी प्रशासक मानिन्छन्। उनले यसअघि गृह मन्त्रालय तथा मातहतका विभिन्न निकायमा रहेर लामो समय काम गरिसकेका छन्। हाल उनी रक्षा सचिवका रूपमा कार्यरत छन्।
गृह मन्त्रालयमा शर्मा आउनुलाई सुरक्षा प्रशासनको अनुभव भएका सचिवको जिम्मेवारीमा आगमनका रूपमा हेरिएको छ। गृहसचिवले गृह प्रशासनसँगै आन्तरिक सुरक्षा, शान्ति–सुरक्षा, प्रहरी तथा सशस्त्र प्रहरीसँगको समन्वय र विपद् व्यवस्थापन जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ।


