बाढीपहिरो प्रभावितको तत्काल उद्धार र राहतमा जुट्न भण्डारीको आग्रह


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवालगायत भोटेकोशी नदी आसपासका बाढीपहिरो प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेकी छन्।

भण्डारीले विपद्मा परेका नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै खाद्यान्न, स्वास्थ्य सेवा र अस्थायी आवाससहितका अत्यावश्यक राहत सामग्री तत्काल उपलब्ध गराउन आग्रह गरेकी हुन्। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा बेपत्ता नागरिकको खोजी र उद्धारलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उनले बताइन्।

उनले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेकी छन्। प्रभावित परिवारलाई सहयोग गर्न सबै पक्ष एकजुट भएर मानवीय सेवामा जुट्नुपर्नेमा पनि उनले जोड दिएकी छन्।

२०८३ भाद्र १२, शुक्रबार १५:५० प्रकाशित
ट्रेन्डिङ समाचार