सकसका बीच सञ्चार मन्त्रालयको जिम्मेवारी राजेन्द्र कुमार पौडेललाई


काठमाडौं । सरकारलाई सूचना तथा सञ्चार मन्त्रालयको सचिव छनोट गर्न सकस परिरहेका बेला अन्ततः कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेललाई सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायका सचिवहरूको सरुवा गर्ने निर्णय गरे पनि सञ्चार मन्त्रालयको सचिवमा कसलाई पठाउने भन्ने टुंगो लगाउन सकेको थिएन। मन्त्रालयको सचिव पदमा जान अधिकांश सचिव अनिच्छुक देखिएपछि सरकारलाई निर्णय कार्यान्वयन गर्नसमेत कठिनाइ भएको थियो।

यसअघि सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारी पाएका डा. कमलप्रसाद पोखरेलले दुई दिन पनि मन्त्रालयमा काम नगरी अचानक राजीनामा दिएपछि सञ्चार मन्त्रालयको सचिव पदप्रति अन्य सचिवहरू थप सशंकित बनेका थिए। यही कारण सरकारले उपयुक्त सचिवको खोजी गर्दै विभिन्न विकल्पमा छलफल गरेको थियो।

स्रोतका अनुसार पौडेल पनि सुरुमा सञ्चार मन्त्रालयको जिम्मेवारी लिन इच्छुक थिएनन्। तर मुख्य सचिवले विशेष आग्रह गरेपछि उनी सञ्चार मन्त्रालय आउन राजी भएका हुन्। सञ्चार सचिवका रूपमा जिम्मेवारी लिन सुदूरपश्चिम प्रदेशका प्रमुख सचिवलाई समेत आग्रह गरिएको थियो। तर उनले पनि उक्त जिम्मेवारी लिन अनिच्छा देखाएको स्रोतको भनाइ छ।

अन्ततः पौडेलले सञ्चार मन्त्रालयको सचिव बन्न स्वीकार गरेपछि शुक्रबार मात्रै उनलाई बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार जिम्मेवारी दिइएको पत्र बुझाइएको बताइएको छ।

यससँगै केही दिनदेखि सचिवस्तरमै देखिएको अन्योल र असहजताका बीच सञ्चार मन्त्रालयले नयाँ सचिव पाएको छ। पौडेलको आगमनसँगै मन्त्रालयको प्रशासनिक नेतृत्वले नियमित गति लिने अपेक्षा गरिएको छ।

 

 

२०८३ भाद्र ५, शुक्रबार १६:२९ प्रकाशित
ट्रेन्डिङ समाचार