काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गरेको छ।
संशोधित कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले अब अनलाइनमार्फत पनि बोलकबोलमा सहभागी हुन सक्नेछन्। रिपो, रिभर्स रिपो, सोझै खरिद–बिक्री, दीर्घकालीन रिपो तथा निक्षेप संकलनजस्ता उपकरणको सञ्चालन प्रक्रिया थप स्पष्ट र व्यवस्थित बनाइएको छ।
कार्यविधिले न्यूनतम बोल रकम १० करोड रुपैयाँ कायम गर्नुका साथै समान ब्याजदरमा बढी माग भए ‘प्रो–राटा’ आधारमा रकम बाँडफाँट गर्ने व्यवस्था गरेको छ। साथै, कारोबार सम्पन्न नगर्ने वा तोकिएको प्रक्रिया पालना नगर्ने संस्थालाई जरिवाना र छ महिनासम्म बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार संशोधनले खुला बजार कारोबारलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै तरलता व्यवस्थापन, जोखिम नियन्त्रण र मौद्रिक नीतिको कार्यान्वयनलाई थप प्रभावकारी बनाउनेछ।

