गोलीकाण्डमा एकको मृत्यु : सुनसरीको देवानगञ्ज तनावग्रस्त, १६ जना घाइते


विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्न सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मी र सर्वसाधारणसहित कम्तीमा १६ जना घाइते भएका छन्।

गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। अस्पतालले उपचारका क्रममा मृत घोषणा गरेको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरीका अनुसार दुई समूहबीचको विवाद उग्र बन्दै हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा गोली लागेर ८ जना सर्वसाधारण घाइते भएका छन्।

घाइतेमध्ये २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादव कोशी अस्पतालमा उपचाररत छन्।

त्यसैगरी २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहता विराट नर्सिङ होममा उपचार गराइरहेका छन्।

झडपमा प्रहरीतर्फ पनि प्रहरी निरीक्षक राकेश राई सहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन्। राईको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते हुने अन्य सुरक्षाकर्मीमा प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव रहेका छन्।

घटनापछि देवानगञ्ज क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले घटनाको कारण र गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

२०८३ श्रावण ११, सोमबार ०८:३४ प्रकाशित
ट्रेन्डिङ समाचार