नेपाल सुरुङयुगमा प्रवेश : नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन आज


काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ इतिहास लेखिँदै छ। लामो प्रतीक्षापछि देशकै पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। करिब सात वर्षको निर्माण यात्रापछि तयार भएको यो परियोजनाले नेपाललाई औपचारिक रूपमा ‘सुरुङयुग’ मा प्रवेश गराएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष डा. तानाका अकिहिको को उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

यो सुरुङमार्ग सञ्चालनमा आएसँगै वर्षौंदेखि नागढुङ्गा सडकखण्डमा हुने लामो जाम, तीव्र उकालो र जोखिमपूर्ण घुम्ती सडकको विकल्प तयार भएको छ। काठमाडौं प्रवेश र बाहिरिने यात्रु तथा मालवाहक सवारीका लागि यो परियोजनालाई मुलुककै महत्वपूर्ण पूर्वाधार उपलब्धिका रूपमा हेरिएको छ।

अहिल्यै सबै सवारी चल्न पाउने छैनन्

उद्घाटन भएलगत्तै सुरुङमार्ग सबै सवारीसाधनका लागि खुला हुने छैन। आयोजना कार्यालयका अनुसार सुरुवाती करिब तीन महिनासम्म ‘ट्रायल अपरेसन’ सञ्चालन गरिनेछ।

यस अवधिमा एम्बुलेन्स, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा अन्य अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइनेछ। परीक्षण अवधिभर कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरिएको छ।

सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन र प्राविधिक पक्षको मूल्यांकनपछि मात्रै सर्वसाधारणका सवारीलाई चरणबद्ध रूपमा प्रवेश दिइनेछ।

नियमित सञ्चालनपछि यस्तो लाग्नेछ शुल्क

परीक्षण अवधि सकिएपछि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको शुल्क तिर्नुपर्नेछ।

सडक विभागले तय गरेको दरअनुसार—

  • कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा रु. ६५ र बाहिरिँदा रु. ६० तिर्नुपर्नेछ।
  • मिनीबस, ट्रक तथा टिपरले काठमाडौं आउँदा रु. ११५ र बाहिरिँदा रु. ८० तिर्नुपर्नेछ।
  • बस तथा ठूला ट्रकले काठमाडौं प्रवेश गर्दा रु. २६० र बाहिरिँदा रु. २०० शुल्क लाग्नेछ।

मन्त्रिपरिषद्ले सवारीको प्रकृतिअनुसार रु. ६० देखि रु. ६०० सम्म शुल्क निर्धारण गरिसकेको छ।

यी सवारीलाई प्रवेश निषेध

सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा पेट्रोल, डिजेल, ग्यास वा अन्य विस्फोटक तथा प्रज्ज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश दिइने छैन।

२.६८ किलोमिटर लामो मुख्य सुरुङ

यो परियोजनाअन्तर्गत २,६८८ मिटर लामो मुख्य सुरुङ र २.५५ किलोमिटर लामो उद्धार (इभ्याकुएसन) सुरुङ निर्माण गरिएको छ।

सुरुङभित्र अत्याधुनिक सिसिटिभी निगरानी प्रणाली, सञ्चार प्रणाली, दमकल उपकरण, आकस्मिक उद्धार सेवा, अक्सिजन आपूर्ति तथा विभिन्न सुरक्षा संयन्त्र जडान गरिएको छ, जसले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरुङ सञ्चालनमा सहयोग पुर्‍याउनेछ।

एक घण्टासम्म यात्रा समय बचत

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक (टोटीपाखा) बाट सुरु हुने सुरुङ धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलामा पुगेर निस्किन्छ।

यसले नागढुङ्गाको भीडभाडयुक्त घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता हटाउँदै यात्राको समय करिब एक घण्टासम्म घटाउने अपेक्षा गरिएको छ। विशेषगरी मालवाहक सवारी, लामो दूरीका बस तथा काठमाडौं आउने–जाने यात्रुले यसको प्रत्यक्ष लाभ पाउनेछन्।

२५ अर्बको लगानी, लक्ष्यभन्दा झण्डै दोब्बर समय

जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानीमा निर्माण भएको यो परियोजनामा करिब रु. २५ अर्ब खर्च भएको छ।

आयोजनाअनुसार निर्माण कार्यमा करिब रु. १७ अर्ब, मूल्यवृद्धि तथा विनिमयदरका कारण थप रु. २ अर्ब र जग्गा अधिग्रहण तथा मुआब्जामा करिब रु. ६ अर्ब खर्च भएको हो। परियोजनाका लागि ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो।

सुरुङमार्ग ४२ महिनाभित्र सम्पन्न गर्ने प्रारम्भिक लक्ष्य भए पनि कोभिड–१९ महामारी, प्राविधिक जटिलता र निर्माणसम्बन्धी विभिन्न अवरोधका कारण करिब ८० महिनापछि मात्रै सञ्चालनमा आएको हो।

अब यो परियोजनाले काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारलाई आधुनिक, सुरक्षित र छरितो बनाउँदै नेपालमा सुरुङमार्ग निर्माणको नयाँ युगको आधारशिला खडा गरेको सरकारको दाबी छ।

२०८३ श्रावण ११, सोमबार ०८:५५ प्रकाशित
ट्रेन्डिङ समाचार