विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा उत्पन्न तनाव नियन्त्रणबाहिर जान थालेपछि नेपाली सेना परिचालन गरिएको छ। कर्फ्यू लागू गरिएका क्षेत्रमा प्रदर्शनकारीले आगजनी, तोडफोड तथा टायर बालेर विरोध प्रदर्शन जारी राखेपछि सुरक्षा अवस्था थप जटिल बनेको हो।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार कर्फ्यूको अवज्ञा गर्दै ठूलो संख्यामा स्थानीय सडकमा उत्रिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयास मात्रै पर्याप्त नभएको भन्दै नेपाली सेनालाई परिचालन गरिएको हो। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले सुरक्षाको अवस्था संवेदनशील बन्दै गएपछि सेना परिचालन गर्ने निर्णय गरिएको जानकारी दिए।
सेनाको बख्तरबन्द गाडीसहित सशस्त्र टोली घटनास्थल कप्तानगञ्ज पुगेर सुरक्षा व्यवस्थालाई थप मजबुत बनाएको छ। यसअघि प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा परिचालन भए पनि बढ्दो भीड नियन्त्रण गर्न चुनौती देखिएको प्रशासनले जनाएको छ।
आइतबार राति दुई समुदायबीच विवाद चर्किएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा एक जनाको मृत्यु भएको छ भने प्रहरीसहित २१ जना घाइते भएका छन्। घटनापछि सुनसरीका लौकही, इनरुवा तथा आसपासका क्षेत्रमा पनि प्रदर्शन फैलिएको छ। देवानगञ्ज, हरिनगर र कप्तानगञ्ज क्षेत्रमा कर्फ्यू उल्लंघन गर्दै विभिन्न समूहले विरोध प्रदर्शन जारी राखेका छन्।
सुरक्षा चुनौती बढ्दै गएपछि कोशी प्रदेशका अन्य जिल्लाबाट समेत नेपाल प्रहरी, सशस्त्र प्रहरी र दंगा नियन्त्रणका विशेष टोली सुनसरीमा खटाइएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार परिस्थितिलाई थप जटिल हुन नदिन अतिरिक्त सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाइएको छ।

