सम्पर्कविहीन भएको भोलिपल्ट तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र भेटियो बैंकिङ क्षेत्रकी कर्मचारीको शव,पोस्टमार्टम प्रतिवेदनपछि मात्रै खुल्नेछ मृत्युको वास्तविक कारण


काठमाडौं । शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएकी एक महिलाको शव शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका–१ पटापु क्षेत्रमा पार्किङ गरिएको विद्युतीय (ईभी) गाडीभित्र फेला परेको छ। घटनापछि प्रहरीले मृत्युको कारणबारे सबै सम्भावित कोणबाट अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार मृतक तारकेश्वर नगरपालिका–११, नेपालटार निवासी ४५ वर्षीया रश्मी रिजाल हुन्। उनी पछिल्लो समय तारकेश्वर–९ शुभकामना चोकमा बस्दै आएकी थिइन्।

रश्मी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेड मा कम्प्लायन्स अफिसर तथा प्रवक्ताको जिम्मेवारीमा कार्यरत थिइन्। पारिवारिक स्रोतका अनुसार उनी साउन ८ गते बिहान करिब ७ बजेदेखि सम्पर्कविहीन भएकी थिइन्। परिवारले खोजी गरिरहेकै क्रममा शनिबार पटापु क्षेत्रमा रोकिएको बा.प्र. ०१–०४५ च नम्बरको विद्युतीय गाडीभित्र उनको शव फेला परेको हो।

घटनाको जानकारी पाएलगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का, फरेन्सिक प्रमाण संकलन तथा अन्य आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि पठाएको जनाएको छ।

काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईका अनुसार मृत्युको वास्तविक कारण तत्काल खुल्न सकेको छैन। प्रारम्भिक अवस्थाले घटनालाई शंकास्पद देखिएकाले आत्महत्या, हत्या वा अन्य कुनै कारणबाट मृत्यु भएको हो भन्ने विषयमा कुनै निष्कर्षमा नपुगिएको उनले बताए।

प्रहरीले पोस्टमार्टम प्रतिवेदन, डिजिटल प्रमाण, गाडीको अवस्था, मृतकको पछिल्लो गतिविधि, सम्पर्कमा रहेका व्यक्तिहरू तथा अन्य उपलब्ध प्रमाणको विश्लेषण गर्दै घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

मृत्युको कारणबारे आधिकारिक निष्कर्ष भने पोस्टमार्टम प्रतिवेदन र अनुसन्धान सम्पन्न भएपछि मात्रै सार्वजनिक हुने प्रहरीको भनाइ छ।

२०८३ श्रावण ९, शनिबार १७:५३ प्रकाशित
ट्रेन्डिङ समाचार