रौतहटको चन्द्रपुरका विवाहित महिलामा मानसिक स्वास्थ्य संकट, ३१ प्रतिशतमा डिप्रेसन


काठमाडौं ।  रौतहटको चन्द्रपुर नगरपालिकामा गरिएको एक अध्ययनले विवाहित महिलाको मानसिक स्वास्थ्य अवस्था चिन्ताजनक रहेको देखाएको छ। काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेस र धुलिखेल अस्पतालका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार ३१.१ प्रतिशत विवाहित महिलामा डिप्रेसन र १६.७ प्रतिशतमा एन्जाइटी (चिन्ता) का लक्षण देखिएका छन्।

अध्ययनमा २० देखि ४९ वर्ष उमेर समूहका विवाहित महिलालाई समेटिएको थियो। अनुसन्धानले पारिवारिक अवस्था, सामाजिक सम्बन्ध, रोजगारी र बसोबासको अवस्थाले महिलाको मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने देखाएको छ।

अध्ययनअनुसार गृहिणीको तुलनामा जागिरे महिलामा तनाव र चिन्ताको स्तर बढी पाइएको छ। घर र कार्यालयको दोहोरो जिम्मेवारी, समय व्यवस्थापन तथा पारिवारिक दबाबका कारण कामकाजी महिलामा मानसिक समस्या बढ्न सक्ने अनुसन्धानकर्ताले बताएका छन्।

त्यस्तै, श्रीमान्सँग अलग बसिरहेका महिलामा डिप्रेसन र एन्जाइटीको जोखिम बढी देखिएको छ। दाम्पत्य दूरी, आर्थिक असुरक्षा र भावनात्मक सहयोगको कमी यसको कारण हुन सक्ने अध्ययनले औंल्याएको छ। संयुक्त परिवारमा बस्ने महिलामा भने सामाजिक सहयोगका कारण डिप्रेसनको जोखिम तुलनात्मक रूपमा कम देखिएको छ।

अन्तर्राष्ट्रिय जर्नल डिएमजे ओपनमा प्रकाशित यस अध्ययनले महिलाको मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण विषयका रूपमा लिनुपर्ने आवश्यकता औंल्याएको छ। अनुसन्धानकर्ताले स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा विस्तार, प्राथमिक स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य परीक्षण र महिलामैत्री परामर्श सेवा बढाउन सुझाव दिएका छन्।

२०८३ श्रावण २, शनिबार १६:४८ प्रकाशित
ट्रेन्डिङ समाचार