११ महिनामा आयात–निर्यात बढ्दा व्यापारघाटा १६ खर्ब नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालमा आयात र निर्यात दुवै बढेका छन्। भन्सार विभागका अनुसार आयात १५.१६ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँ र निर्यात १२.२८ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
आयात–निर्यात वृद्धि भए पनि व्यापारघाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा कुल वैदेशिक व्यापार १४.७८ प्रतिशतले वृद्धि भएर २१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको विभागले जनाएको छ।
सबैभन्दा धेरै २ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ भने निर्याततर्फ १ खर्ब २२ अर्ब रुपैयाँ बराबरको भटमासको तेल अग्रस्थानमा रहेको छ। भारतसँग सबैभन्दा बढी व्यापार हुँदा ८ खर्ब ६३ अर्ब रुपैयाँ र चीनसँग ३ खर्ब ८० अर्ब रुपैयाँ व्यापारघाटा रहेको तथ्यांकले देखाएको छ।