अर्थ सचिव पनि फेरिने तयारी, गोविन्द बहादुर  कार्कीलाई ल्याउने कसरत


काठमाडौं ।सरकारले अर्थ मन्त्रालयको प्रशासनिक नेतृत्व समेत फेरबदल गर्ने तयारी गरेको छ । उच्च प्रशासनिक स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई अर्थ मन्त्रालयको सचिवका रूपमा ल्याउने गरी अन्तिम गृहकार्य भइरहेको छ ।

हालका अर्थ सचिव डा. घनश्याम उपाध्यायलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय वा राष्ट्रिय योजना आयोगमध्ये कुनै एक निकायमा पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ । सम्भवतः आज दिउँसोसम्म यससम्बन्धी निर्णय सार्वजनिक हुन सक्ने बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको विशेष रुचिपछि कार्कीलाई अर्थ मन्त्रालय पठाउने प्रक्रिया अघि बढाइएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने उपाध्यायलाई नै निरन्तरता दिन चाहेका थिए । तर प्रधानमन्त्री सचिवालयबाट कार्कीलाई अर्थ सचिव बनाउने गरी दबाब बढेपछि अर्थमन्त्री पनि पछि हटेको चर्चा सिंहदरबारमा छ ।

यसअघि सरकारले शुक्रबारको मिति राखेर   एक दर्जनभन्दा बढी सचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरिसकेको छ । सोही निर्णयको निरन्तरता स्वरूप वा छुट्टै निर्णयमार्फत अर्थ मन्त्रालयको प्रशासनिक नेतृत्व परिवर्तन गरिने तयारी रहेको उच्च स्रोतले प्रशासनपोस्टलाई जनाएको छ । आज मन्त्रिपरिषद् बैठक बोलाइएकाले सम्भवतः यस सम्बन्धि निर्णय आजै हुने बताइएको छ ।

बालेन्द्र शाहले प्रधानमन्त्री भएकै दिन चैत्र १३ मा सार्वजनिक भएको वृहत शासकीय सुधारका १ सय कार्यसूची सचिव कार्कीकै नेतृत्वमा बनेको थियो । अहिले पनि सोही कार्यसूची अनुसार नै विभिन्न सुधारका कार्यहरु अघि बढिरहेका छन् । अर्थ सचिव उपाध्याय सफल अर्थसचिवकै रुपमा रहेपनि लामो समय भइसकेकाले उनी आफै पनि मन्त्रालयमा बस्न अनिच्छुक भएको बताइएको छ ।

२०८३ जेष्ठ २६, मंगलवार ०९:५२ प्रकाशित
ट्रेन्डिङ समाचार