नक्कली नागरिकता प्रकरण : वीरगञ्जका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । नक्कली नागरिकता दिलाएको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका का मेयर राजेशमान सिंह सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सोमबार विशेष अदालत मा आरोपपत्र दर्ता गर्दै उनीहरूलाई भ्रष्टाचार तथा सरकारी कागजात दुरुपयोगसम्बन्धी कसुरमा अभियुक्त बनाएको हो।

आयोगका अनुसार मेयर सिंहले सिन्धुपाल्चोक को इन्द्रावती गाउँपालिका–१० निवासी रीता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नै छोरीका रूपमा प्रस्तुत गर्दै झुटा विवरणका आधारमा नेपाली नागरिकता दिलाएका थिए। अनुसन्धानका क्रममा यस कार्यमा स्थानीय जनप्रतिनिधि तथा कर्मचारीको समेत मिलेमतो रहेको खुलेको अख्तियारले जनाएको छ।

अनुसन्धानअनुसार २०७१ कात्तिक २० गते वीरगञ्ज–३ स्थित वडा कार्यालयमा रुविना श्रेष्ठको झुटो विवरण राखी जन्मदर्ता प्रमाणपत्र तयार गरिएको थियो। सोही प्रमाणपत्रलाई आधार बनाएर वडा कार्यालयबाट सिफारिस गरिएपछि २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्सा बाट रुविनाको नाममा नेपाली नागरिकता जारी गरिएको थियो।

अख्तियारले मेयर सिंह र बालिकाकी आमालाई उक्त गैरकानूनी कार्य सम्पन्न गराउन मुख्य भूमिका खेलेको आरोप लगाएको छ। यस्तै, तत्कालीन वडा सचिव भिखारी राय तथा तत्कालीन वडा सदस्य एवं कार्यवाहक वडा अध्यक्ष तैफुल अख्तर ठकुराईमाथि जानीजानी गलत सरकारी कागजात तयार पारेको अभियोग छ।

नागरिकता जारी गर्ने प्रक्रियामा संलग्न रहेको आरोपमा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।

यसैबीच, प्रकरणको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालय ले गठन गरेको छानबिन समितिका संयोजक एवं तत्कालीन उपसचिव पुस्कर राना तथा सदस्य एवं तत्कालीन शाखा अधिकृत परशुराम पोखरेललाई समेत मुद्दामा समेटिएको छ।

अख्तियारका अनुसार उनीहरूले दोषीलाई जोगाउने उद्देश्यले वास्तविक तथ्य लुकाई भ्रामक प्रतिवेदन तयार गरेका थिए। प्रतिवेदनमा ‘जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयका कागजात नष्ट भइसकेका छन्’ भन्ने झुटो विवरण समावेश गरी अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरिएको आरोप छ।

सरकारी प्रतिवेदनमा नियतवश गलत विवरण उल्लेख गरेको ठहर गर्दै अख्तियारले उनीहरू दुवैलाई पनि प्रतिवादी कायम गरेको जनाएको छ।

२०८३ जेष्ठ २५, सोमबार १७:४२ प्रकाशित
ट्रेन्डिङ समाचार