काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले २३ र २४ भदौको प्रदर्शनका घटनाबारे सार्वजनिक गरेको प्रतिवेदनमा रवि लामिछानेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका १७ जना सांसदमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगले लामिछाने नख्खु कारागारबाट बाहिरिँदा कैदीबन्दी बाहिर पठाउन संलग्नता रहेको भन्दै सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ।
उक्त घटनामा पार्टी प्रवक्ता मनिष झा र नेता हरि ढकाललाई पनि अनुसन्धानको दायरामा ल्याउन भनिएको छ। आयोगले सांसदहरू सुधन गुरुङ, दीपक बोहरा, गणेश कार्की, सुलभ खरेल, शिव यादव, बब्लु गुप्ता, कृष्णकुमार कार्की, डा. तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, आशिका तामाङ, ज्वाला संग्रौला, सोम शर्मा र पुरुषोत्तम यादवमाथि समेत छानबिन आवश्यक रहेको जनाएको छ।
प्रतिवेदनअनुसार उनीहरूले प्रदर्शनअघि, प्रदर्शनका क्रममा र त्यसपछि दिएका अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाएको हुनसक्ने भन्दै राष्ट्रिय अनुसन्धान, सामाजिक सञ्जाल र प्रकाशित समाचारका आधारमा अनुसन्धान सिफारिस गरिएको हो। आयोगले घटनामा मानवीय तथा भौतिक क्षतिमा उनीहरूको भूमिका, सार्वजनिक शान्ति तथा सुव्यवस्थामा असर पुगे–नपुगेको विषयमा अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको छ।
आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले घटनाबारे अध्ययन गरी बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो।


