लोकसेवाको प्रतिस्पर्धाबाट छानिए ७ जना सहसचिव,प्रशासन तर्फको खुलामा टपर सहसचिव बने विजयकुमार शर्मा


काठमाडौं ।लोकसेवा आयोगले आर्थिक वर्ष २०८२/८३ मा सहसचिव पदका लागि सञ्चालन गरेको खुला प्रतिस्पर्धात्मक परीक्षाबाट प्रशासन, लेखापरीक्षण, न्याय तथा संघीय संसद् सेवाका गरी सात जना सहसचिव छनोट गरेको छ ।

प्रशासन सेवातर्फको खुला प्रतिस्पर्धामा विजयकुमार शर्मा शीर्ष (टपर) स्थान हासिल गर्दै सहसचिव बन्न सफल भएका छन् । सोही सेवाबाट टेकबहादुर वली पनि सहसचिवमा छनोट भएका छन् ।

त्यस्तै, प्रशासन सेवाबाट महिलातर्फ आरती न्यौपाने र पिछडिएको क्षेत्र (बझाङ) बाट बसन्तबहादुर बोहरा सहसचिवमा छनोट भएका छन् । यससँगै प्रशासन सेवातर्फ मात्रै चार जना सहसचिव बनेका छन् ।

लेखापरीक्षण सेवातर्फ नरेन्द्र सञ्ज्याल सहसचिवमा छनोट भएका छन् भने न्याय सेवाअन्तर्गत कानुन समूह, मधेसी समूहतर्फबाट नूतन झा सहसचिवमा चयन भएका छन् ।

यस्तै, संघीय संसद् सेवाको प्रशासन समूहबाट विशाल सापकोटा सहसचिवमा छनोट भएका आयोगले जनाएको छ ।

लोकसेवा आयोगका अनुसार लिखित परीक्षा, अन्तर्वार्ता तथा मामिला प्रस्तुतीकरणमा प्राप्त अंकका आधारमा उत्कृष्ट उम्मेदवारहरू छनोट गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा अन्य सम्बन्धित निकायमा सिफारिस गरिएको हो ।

छनोट भएका सहसचिवहरूको पदस्थापन सम्बन्धित मन्त्रालयले आवश्यकताअनुसार गर्नेछ ।

२०८३ जेष्ठ ५, मंगलवार २३:१० प्रकाशित
ट्रेन्डिङ समाचार