राष्ट्रपतिको अपिल- तोकिएकै समयमा चुनाव सम्पन्न गरौँ


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएकै समयमा चुनाव र त्यसपछि संसद् र सरकारको निरन्तरताका लागि अपिल गरेका छन् । राष्ट्रपति पौडेलले बडादशैं २०८२ को शुभकामना सन्देश जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, ‘तोकिएको निर्वाचन समयमै सम्पन्नक गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई संयमित भई आवश्यक सहयोग र सहकार्य गरी मुलुकमा उत्पन्नि सबै प्रकृतिका समस्यहरूको हल गर्न तथा यस परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त गरी समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् ।’

गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । प्रतिनिधिसभाबाट अर्को सरकार बन्न सक्ने अवस्था बनेन । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेका थिए । प्रतिनिधिसभाको अर्को चुनाव आगामी फागुन २१ गतेका लागि तोकिएको छ ।

यो सन्दर्भमा राष्ट्रपति पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्नक गरी जनप्रतिनिधि मुलक संसद र सरकारको निरन्तरताका लागि सबैलाई अपिल गरेका हुन् । यस्तो प्रार्थना गर्दै राष्ट्रपति पौडेलले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् ।

मुलुकमा उत्पन्न भएको विषय तथा असाधारण परिस्थिति एवम् मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई उपयुक्त व्यवस्थापन गरी अगाडि बढ्न सबैको सहयोग आवश्यक रहेको पनि राष्ट्रपति पौडेलले बताएका छन् ।

दसैँ पर्वको संरक्षण एवम् सम्वद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास उनको छ । यही सन्देशका साथ राष्ट्रपति पौडेलले बडादसैँ २०८२ ले सबैमा नयाँ उत्साह, उमंग र सकारात्मक ऊर्जा विकास गर्न सकोस् भन्ने कामना गरेका छन् ।

२०८२ आश्विन १३, सोमबार १०:२० प्रकाशित
ट्रेन्डिङ समाचार