काठमाडौं
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि ठुलो पहिरो खसेको छ ।
मंगलबार दिउँसो ३ः२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको चितवन प्रहरीका एसपी गोविन्द पुरीले जानकारी दिए ।चितवनको इच्छाकामना गाउँपालिका –५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो निरन्तर खसी रहेकोले दुईतर्फ सडक अवरुद्ध भएको उनले बताए ।
पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम रहेकोले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको उनले बताए ।
ठूलो सुक्खा पहिरो सडकमाथिबाट निरन्तर खसिरहेकोले पन्छाउन पनि कठिनाइ भइरहेको छ । जसका कारण सयौ यातायातका साधनहरु रोकिएका छन् भने हजारौको यात्रु अलपत्र परेका छन् ।
तुइनखोलामा शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खुक्खा पहिरो खसिरहेको छ । निरन्तर खसेको सुक्खा पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार अपरान्ह फेरि सुक्खा पहिरो खसेको हो ।
मंगलबार बिहान करिब ५ः४० बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका –१० जवाङखोला (बाँदरे मोड) मा खसेको सुक्खा पहिरो झन्डै १० घण्टा लगाएर पन्छाएपछि अपरान्हदेखि सडक दुई तर्फी सञ्चालनमा ल्याइएको थियो ।


