ADVERTISEMENT

नेपाल बैंक र फोनपेबीच भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालन सम्झौता

काठमाडौं। नेपाल बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच ग्राहकलाई आधुनिक तथा डिजिटल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार नेपाल बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमार्फत भर्चुअल क्रेडिट कार्डका लागि सहजै आवेदन दिन सक्नेछन्। नेपाल बैंकका प्रमुख सञ्चालन अधिकृत लेखनाथ भुसाल र फोनपेका प्रमुख व्यवसाय अधिकृत सुमित दासले मंसिर १० गते काठमाडौंस्थित नेपाल बैंकको प्रधान कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

फोनपे भर्चुअल क्रेडिट कार्डमा सहज आवेदन प्रक्रिया, व्यापक भुक्तानी सुविधा, रियल टाइम ट्र्याकिङ, ४५ दिनसम्म ब्याजरहित अवधि तथा लचिलो भुक्तानी विकल्पजस्ता सुविधा उपलब्ध हुनेछन्। यस सेवाले ग्राहकलाई नगदरहित कारोबारमा प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानीलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नेपाल बैंकले देशभरका २३० शाखा, २५० एटीएम र ५७ एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार करिब १६ लाख ग्राहक डिजिटल बैंकिङ सेवाबाट लाभान्वित भइरहेका छन्।

नेपाल बैंक र फोनपेबीचको यो सहकार्यले डिजिटल वित्तीय पहुँच विस्तार, आधुनिक भुक्तानी प्रणालीको प्रवर्द्धन तथा ग्राहकलाई प्रविधिमैत्री बैंकिङ सेवासँग जोड्न थप योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार