ADVERTISEMENT

मन्त्रिपरिषद् बैठक टारेर एकाएक राष्ट्रिय सुरक्षा परिषद् बैठक, के छ भित्री कारण ?

संसद् अधिवेशन आह्वानको तयारी अन्योलमा, प्रधानमन्त्री–रविबीचको पाँच घण्टे छलफलपछि सरकारको नियमित कार्यसूची नै प्रभावित भएको विश्लेषण

काठमाडौं । हरेक हप्ताजसो नियमित मन्त्रिपरिषद् बैठक राख्दै आएका प्रधानमन्त्री वालेन्द्र शाहले यो साता भने मन्त्रिपरिषद् बैठक नै राखेनन्। बरु, नियमित मन्त्रिपरिषद् बैठकको तयारी भइरहेका बेला एकाएक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइएपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा अनेक प्रश्न उठेका छन्।

मुलुकको समग्र शान्ति सुरक्षा अवस्था सामान्य रहेको र तत्काल कुनै असाधारण सुरक्षा चुनौती देखिएको सार्वजनिक जानकारी नभएको अवस्थामा मन्त्रिपरिषद् बैठकलाई पन्छाएर राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनुपर्ने कारण के थियो ? अहिले यही प्रश्नले राजनीतिक वृत्तमा चर्चा पाउन थालेको छ।

सरकारको नियमित कार्यसूचीअनुसार बिहीबार मन्त्रिपरिषद् बैठक राख्ने तयारी थियो। तर, बैठक शुक्रबारका लागि सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ। बिहीबार बैठक राख्ने विषयमा आन्तरिक छलफलसमेत भएको थियो। तर, शुक्रबार मन्त्रिपरिषद् बैठक बस्नुको सट्टा प्रधानमन्त्री शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाए।

सरकारले यसबीच संसद्को हिउँदे अधिवेशन आगामी मंसिर २१ वा २२ गते आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी गरेको बताइएको थियो। त्यसका लागि मन्त्रिपरिषद्बाट आवश्यक निर्णय हुने अपेक्षा गरिएको थियो। तर, मन्त्रिपरिषद् बैठक नै नबसेपछि संसद् अधिवेशन आह्वानसम्बन्धी सरकारी तयारीसमेत अन्योलमा परेको छ।

प्रधानमन्त्री–रवि पाँच घण्टा छलफल, त्यसपछि किन बढ्यो अन्योल ?

प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच हालै भएको करिब पाँच घण्टा लामो छलफललाई पनि पछिल्लो घटनाक्रमसँग जोडेर हेरिएको छ।

उक्त छलफलले सरकार सञ्चालन, राजनीतिक समन्वय तथा आगामी कार्यदिशाका विषयमा अपेक्षित निकास दिन नसकेको राजनीतिक वृत्तमा चर्चा छ। प्रधानमन्त्री र पार्टी सभापतिबीचका कतिपय विषयमा मतैक्यता कायम हुन नसकेको र त्यसको असर सरकारको नियमित निर्णय प्रक्रियामा परेको हुन सक्ने विश्लेषणसमेत हुन थालेको छ।

स्रोतका अनुसार लामिछानेसँगको छलफलमा केही विषयमा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् बैठक राख्ने विषयसमेत प्रभावित भएको हो। यद्यपि, मन्त्रिपरिषद् बैठक स्थगित हुनु र राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइनुबीच प्रत्यक्ष सम्बन्ध रहेको आधिकारिक पुष्टि भने भएको छैन।

सुरक्षा परिषद्को बैठक बस्यो, तर निर्णय के भयो ?

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र शान्ति सुरक्षा अवस्थाबारे सामान्य छलफल मात्रै भएको बैठकमा सहभागी एक अधिकारीले बताएका छन्। उनका अनुसार बैठकबाट कुनै विशेष निर्णय भएन् ।

यदि मुलुकको सुरक्षा अवस्था सामान्य नै थियो र बैठकबाट कुनै विशेष निर्णय पनि भएन भने नियमित मन्त्रिपरिषद् बैठकको सट्टा राष्ट्रिय सुरक्षा परिषद्को बैठकलाई प्राथमिकता दिनुपर्ने कारण के थियो भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ।

सरकारको नियमित कामकाजमै राजनीतिक प्रभाव ?

सरकार सञ्चालनमा प्रधानमन्त्री र सत्तारूढ दलको नेतृत्वबीच प्रभावकारी समन्वय हुनु स्वाभाविक हो। तर, राजनीतिक नेतृत्वबीचको छलफल वा असमझदारीका कारण मन्त्रिपरिषद्को नियमित बैठक, संसद् अधिवेशन आह्वानजस्ता संवैधानिक तथा प्रशासनिक प्रक्रिया प्रभावित हुन थाले भने त्यसले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाउँछ।

मन्त्रिपरिषद् सरकारको सर्वोच्च कार्यकारी निर्णय गर्ने निकाय हो। राष्ट्रिय सुरक्षा परिषद्को आफ्नै संवैधानिक भूमिका र कार्यक्षेत्र छ। एउटा निकायको बैठक अर्को निकायको नियमित कार्यसूचीको विकल्प बन्न सक्दैन।

त्यसैले यसपटक मन्त्रिपरिषद् बैठक किन बस्न सकेन ? संसद्को हिउँदे अधिवेशन आह्वानसम्बन्धी प्रस्ताव किन अघि बढ्न सकेन ? र नियमित बैठकको तयारी भइरहेका बेला राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनुपर्ने विशेष कारण के थियो ? जवाफ अनुत्तरित नै छ ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार