ADVERTISEMENT

मलेसिया ठगी प्रकरणमा अनुसन्धानमाथि प्रश्न : रामेश्वर र कुँवर पक्राउ पर्दा डीपी र शरतसिंहमाथि अनुसन्धान किन भएन ?

डीपी अर्याल र शरतसिंह भण्डारी श्रममन्त्री हुँदा पनि करोडौँ रकम मलेसिया गएको विवरण, तर अनुसन्धानको दायराबाहिर , एउटै प्रकरणमा कसैलाई पक्राउ र कसैलाई अनुसन्धानसमेत नगर्नुको आधार के ? चयनमुखी अनुसन्धानले न्याय र सुशासनप्रतिको विश्वास कमजोर बनाउने जोखिम

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि स्वास्थ्य परीक्षण तथा बायोमेडिकल शुल्कका नाममा भएको  अर्बौँ रुपैयाँको ठगी र रकम विदेश पठाइएको प्रकरणमा सरकारले अघि बढाएको अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न उठ्न थालेको छ। एउटै प्रकरणमा जोडिएका विभिन्न मन्त्री र उच्चपदस्थ अधिकारीमध्ये केहीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने तर सोही अवधिमा रकम विदेशिएको तथ्यसँग जोडिएका अन्य मन्त्रीहरूको भूमिकामाथि अनुसन्धानसमेत अघि नबढाउनुले अनुसन्धान चयनमुखी त भइरहेको छैन भन्ने प्रश्न जन्माएको हो।

विशेषगरी तत्कालीन श्रममन्त्रीहरू रामेश्वर राय यादव र शेरबहादुर कुँवर पक्राउ परे पनि उनीहरूभन्दा अघिपछि श्रम मन्त्रालयको नेतृत्व गरेका डोलप्रसाद (डीपी) अर्याल र शरतसिंह भण्डारीको भूमिकामाथि अनुसन्धान किन अघि बढेन भन्ने प्रश्न अहिले बहसको विषय बनेको छ।

अनुसन्धानमा सार्वजनिक भएका विवरणअनुसार डीपी अर्याल र शरतसिंह भण्डारी श्रममन्त्री रहेका अवधिमा पनि मलेसियामा करोडौँ रुपैयाँ पठाइएको थियो। अर्याल दुईपटक श्रममन्त्री भएका थिए भने भण्डारीले पनि श्रम मन्त्रालयको नेतृत्व गरेका थिए। उनीहरूको कार्यकालमा रकम विदेशिएको विवरण सार्वजनिक हुँदा पनि उनीहरू अनुसन्धानको दायरामा नआउनुले अनुसन्धानको मापदण्डमाथि प्रश्न उठेको हो।

यो प्रकरणमा मूल प्रश्न कुनै मन्त्री दोषी हुन् वा निर्दोष भन्ने होइन। प्रश्न हो– एउटै प्रकृतिको घटनामा संलग्नताको सम्भावना देखिएका सबै व्यक्तिमाथि समान कानुनी मापदण्डअनुसार अनुसन्धान भइरहेको छ कि छैन ? रकम विदेशिएको तथ्य एउटा कार्यकालमा प्रमाणका रूपमा लिइने र अर्को कार्यकालमा त्यही तथ्यलाई बेवास्ता गरिने हो भने त्यसले अनुसन्धानको निष्पक्षतामाथि स्वाभाविक रूपमा शंका पैदा गर्छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशन तथा उजुरीका आधारमा यो प्रकरणको अनुसन्धान अघि बढाएको हो। अनुसन्धानका क्रममा श्रमिकबाट गैरकानुनी रूपमा रकम असुल गरी मलेसियास्थित कम्पनीमा पठाइएको आरोपमा पूर्वश्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरसहित तत्कालीन सचिव तथा अन्य अधिकारीहरू पक्राउ परेका छन्।

तर, अनुसन्धानमा दुई पूर्वमन्त्री मात्रै पक्राउ परेपछि अन्य मन्त्रीहरूको भूमिका र जिम्मेवारीबारे प्रश्न उठेको छ।

डीपी र शरतसिंहको पालामा पनि मलेसिया गयो करोडौँ रकम

सार्वजनिक भएका विवरणअनुसार डीपी अर्याल र शरतसिंह भण्डारी श्रममन्त्री रहेका बेला पनि मलेसियामा रकम पठाइएको थियो।

डीपी अर्याल २०७९ माघ ३ गते श्रममन्त्री बनेका थिए। उनी मन्त्री बनेको दुई दिनपछि अर्थात् माघ ५ गते नै ९ लाख २५७ अमेरिकी डलर मलेसिया पठाइएको विवरण सार्वजनिक भएको छ। उनी २२ दिनमै मन्त्रालयबाट बाहिरिएका थिए।

त्यसपछि श्रममन्त्री बनेका शरतसिंह भण्डारीको कार्यकालमा पनि पटकपटक रकम मलेसिया गएको देखिन्छ। सार्वजनिक विवरणअनुसार २०८० वैशाख ११ मा १५ लाख ९९२ अमेरिकी डलर, साउन २ मा ७ लाख ८८ हजार ८४ डलर, कात्तिक २ मा ५ लाख ५२ हजार २१५ डलर र माघ ९ मा ४ लाख ८४ हजार ५४४ डलर मलेसिया पठाइएको थियो।

त्यसपछि २०८० फागुन २३ मा डीपी अर्याल पुनः श्रममन्त्री बने। २०८१ असार ३१ सम्म उनको कार्यकाल रहँदा २०८१ वैशाख २४ मा ६ लाख ५४ हजार ३९० डलर र जेठ ९ मा ३६ हजार ५९९ डलर मलेसिया पठाइएको विवरण छ।

यी विवरणले उनीहरूको कार्यकालमा पनि रकम विदेशिएको देखाउँछन्। तर, रकम पठाउने निर्णय कसले गर्‍यो, कुन अधिकारीको सिफारिसमा प्रक्रिया अघि बढ्यो, त्यसलाई रोक्ने जिम्मेवारी कसको थियो र सम्बन्धित मन्त्रीहरूको जानकारी तथा भूमिका के थियो भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुन आवश्यक छ।

कसका पालामा कति रकम मलेसिया गयो ?

सीआईबीको अनुसन्धान र सार्वजनिक भएका विवरणअनुसार २०७६ सालदेखि २०८१ सालसम्म मलेसिया जाने नेपाली श्रमिकबाट उठाइएको रकम पटकपटक विदेश पठाइएको थियो। सार्वजनिक विवरणमा देखिएको कार्यकालगत अवस्था यस्तो छ :

श्रममन्त्री कार्यकालसँग जोडिएको विवरण
रामेश्वर राय यादव २०७६ माघ १५ को मन्त्रीस्तरीय निर्णयपछि चारपटक रकम मलेसिया पठाइएको
शेरबहादुर कुँवर पाँचपटक रकम पठाइएको विवरण
डीपी अर्याल पहिलो कार्यकालमा एकपटक र दोस्रो कार्यकालमा दुईपटक रकम गएको विवरण
शरतसिंह भण्डारी कार्यकालमा पटकपटक रकम पठाइएको विवरण

अनुसन्धानका क्रममा सीआईबीले श्रमिकबाट गैरकानुनी रूपमा संकलित रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड गरी कुल करिब एक अर्ब ६९ करोड रुपैयाँ मलेसिया पठाइएको जनाएको छ। यो रकम १७ पटकमा स्थानान्तरण भएको विवरण सार्वजनिक भएको छ।

यसरी रकम पठाउने प्रक्रियामा श्रम मन्त्रालयको सिफारिस र नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापनसम्बन्धी प्रक्रिया जोडिएको देखिन्छ। त्यसैले रकम विदेश पठाउन निर्णय गर्ने व्यक्तिमात्र होइन, निर्णय कार्यान्वयन गर्ने, सिफारिस गर्ने, स्वीकृति दिने र त्यसलाई नियमन गर्ने निकायको भूमिकासमेत अनुसन्धानको विषय बन्नुपर्छ।

अनुसन्धानको दायरा किन सीमित ? सरकार र सीआईबीले जवाफ दिनुपर्ने प्रश्न

यो प्रकरणमा अनुसन्धानको निष्पक्षता कायम राख्न सीआईबीले केही महत्त्वपूर्ण प्रश्नको जवाफ दिनुपर्ने देखिन्छ।

पहिलो, २०७६ देखि २०८१ सम्म श्रम मन्त्रालयको नेतृत्व गरेका  अधिकांश मन्त्रीको  मन्त्रीको कार्यकालमा रकम विदेशिएको विवरण छ भने उनीहरूको भूमिका छुट्याउने अनुसन्धानको आधार के हो ?

दोस्रो, रामेश्वर राय यादव र शेरबहादुर कुँवरलाई पक्राउ गर्न पर्याप्त आधार भेटिएको हो भने डीपी अर्याल र शरतसिंह भण्डारीको कार्यकालमा रकम विदेशिएको तथ्यबारे के अनुसन्धान भयो ?

तेस्रो, मन्त्रीस्तरीय निर्णय नभएको अवस्थामा पनि मन्त्रालयका सचिव, सहसचिव तथा अन्य अधिकारीले रकम स्थानान्तरणका लागि सिफारिस र पत्राचार गरेका थिए भने त्यसको राजनीतिक तथा प्रशासनिक जवाफदेहिता कसरी निर्धारण गरिन्छ ?

चौथो, श्रमिकको हितविपरीत रकम असुली र विदेश स्थानान्तरण भएको विषयमा सम्बन्धित सबै मन्त्री, सचिव र निर्णय प्रक्रियामा संलग्न अधिकारीमाथि समान मापदण्ड लागू गरिएको छ कि छैन ?

यी प्रश्नको जवाफ नदिई केही व्यक्तिमाथि मात्रै अनुसन्धान अघि बढाउँदा स्वाभाविक रूपमा राजनीतिक आग्रह–पूर्वाग्रहको आशंका बढ्न सक्छ। अनुसन्धान गर्ने निकायले कसैको राजनीतिक हैसियत, पद, पहुँच वा निकटताका आधारमा फरक व्यवहार नगरेको प्रमाणित गर्न सक्नुपर्छ। अन्यथा भ्रष्टाचार र अनियमितताविरुद्धको अभियान नै कसैलाई लक्षित गर्ने र कसैलाई जोगाउने औजार बनेको आशंका बलियो हुन्छ।

सुडान काण्डको नजिर : निर्णय र कार्यान्वयनको जिम्मेवारी पनि अनुसन्धानको विषय

नेपालको प्रशासनिक तथा सुरक्षा क्षेत्रको चर्चित सुडान काण्डले पनि निर्णय प्रक्रिया र त्यसपछिको कार्यान्वयनमा संलग्न व्यक्तिहरूको जिम्मेवारीबारे महत्त्वपूर्ण नजिर स्थापित गरेको छ।

सुडानमा खटिएका नेपाली प्रहरीका लागि आवश्यक सवारीसाधन तथा सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले तत्कालीन तीन जना प्रहरी महानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो।

उक्त प्रकरणमा खरिद प्रक्रिया अघि बढाउनेदेखि भुक्तानीका विभिन्न चरणमा जिम्मेवारी सम्हालेका प्रहरी प्रमुखहरूको भूमिका अदालतले परीक्षण गरेको थियो। सर्वोच्चको फैसलाअनुसार ओमविक्रम राणालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तथा हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना भएको थियो।

सुडान काण्डको यो नजिरले एउटै घटनामा निर्णय गर्ने, कार्यान्वयन गर्ने र त्यसपछिका प्रक्रियामा संलग्न हुने पदाधिकारीको भूमिका प्रमाणका आधारमा छुट्टाछुट्टै परीक्षण हुनुपर्ने देखाउँछ। मलेसिया प्रकरणमा पनि त्यही सिद्धान्तअनुसार अनुसन्धान अघि बढाउनुपर्ने माग उठ्नु स्वाभाविक हो।

चयनमुखी अनुसन्धानले न्यायप्रतिको विश्वास कमजोर बनाउँछ

कुनै पनि अनुसन्धानको विश्वसनीयता पक्राउ परेका व्यक्तिको संख्याले होइन, अनुसन्धानको निष्पक्षता, प्रमाणको आधार र कानुनी समानताले निर्धारण गर्छ। एउटै घटनामा कसैलाई पक्राउ गरेर कसैलाई अनुसन्धानको प्रारम्भिक दायरामै नल्याउँदा त्यसको कारण सार्वजनिक गर्नुपर्छ।

डीपी अर्याल र शरतसिंह भण्डारी को कार्यकालमा रकम विदेशिएको तथ्य सार्वजनिक भइसकेपछि उनीहरूको भूमिकाबारे अनुसन्धान भयो कि भएन, भएन भने किन भएन भन्ने प्रश्नको जवाफ आउनैपर्छ। उनीहरूमाथि अनुसन्धान गर्नुपर्ने आधार छैन भने त्यसको कानुनी र प्रमाणगत कारण पनि सार्वजनिक गरिनुपर्छ।

अझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै निर्देशनमा अनुसन्धान अघि बढाइएको प्रकरण भएकाले सरकारको जवाफदेहिता थप महत्त्वपूर्ण हुन्छ। सरकारले आफ्ना राजनीतिक निकटता वा असहजताका आधारमा अनुसन्धानको सीमा निर्धारण गर्न नहुने लोकतान्त्रिक मान्यता हो।

न्यायको मूल मर्म नै सबैका लागि समान कानुन र समान व्यवहार हो। कसैलाई प्रमाणका आधारमा अनुसन्धानको दायरामा ल्याउने र कसैलाई राजनीतिक पहुँच वा पदका कारण प्रश्नसमेत नगर्ने हो भने त्यसले कानुनी शासनको मर्ममाथि प्रहार गर्छ।

सरकारले साँच्चै सुशासन र भ्रष्टाचार नियन्त्रणको अभियान चलाएको हो भने मलेसिया प्रकरणमा सबै मन्त्री, सचिव, कर्मचारी, निजी कम्पनीका सञ्चालक तथा रकम स्थानान्तरणमा भूमिका खेल्ने सबै पक्षको निष्पक्ष छानबिन गराउनुपर्छ। कसैलाई काखा र कसैलाई पाखा गर्ने अनुसन्धानले सुशासन बलियो बनाउँदैन, बरु राज्यका संस्थाप्रतिको विश्वास झनै कमजोर बनाउँछ। कानुन सबैका लागि समान हुन्छ भन्ने मान्यता व्यवहारमै स्थापित गर्न नसकिए सुशासनको नारा र अनुसन्धानको अभियान दुवैप्रति जनविश्वास कमजोर हुनेछ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार