ADVERTISEMENT

नारायणगढ–मुग्लिङ सडकखण्ड तुइनखोलाको पहिरो रोक्न दैनिक पाँच घण्टा सडक बन्द,मङ्सिर १३ देखि बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म आवागमन ठप्प

कम्तीमा १५ दिन काम गर्नुपर्ने प्राविधिक निष्कर्ष ,  अर्को सूचना नआएसम्म बन्द जारी रहने

  • पहिरोको दीर्घकालीन समाधान खोज्न ‘नेलिङ’, होरिजोन्टल ड्रेन र बायोइन्जिनियरिङ प्रविधि प्रयोग गरिँदै

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा निरन्तर खसिरहेको पहिरो नियन्त्रणका लागि सरकारले दैनिक पाँच घण्टा सडक बन्द गरेर रोकथामको काम अघि बढाउने भएको छ। पहिरोको जोखिम बढ्दै गएपछि दीर्घकालीन समाधान खोज्ने उद्देश्यसहित मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सडकमा दैनिक पाँच घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक गरेको निर्णयअनुसार प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ। पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै निश्चित समय सडक बन्द गरेर प्राविधिक काम गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए।

तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि सडक डिभिजन कार्यालय भरतपुरले यसपटक विशेष प्रविधि अपनाएर पहिरोको दीर्घकालीन नियन्त्रण गर्ने तयारी गरेको छ। पछिल्लो समय वर्षायाममा मात्रै नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिन थालेपछि जोखिम न्यूनीकरणका लागि प्राविधिक हस्तक्षेप आवश्यक देखिएको हो।

पहिरो रोक्न आधुनिक प्रविधिको प्रयोग

सडक डिभिजन कार्यालयका अनुसार तुइनखोलाको पहिरो नियन्त्रणका लागि मुख्य रूपमा ‘नेलिङ’ प्रविधि प्रयोग गरिनेछ। यसअन्तर्गत पहिरो प्रभावित भिरमा विशेष प्रकारका किला तथा रड ठोकेर जमिन र चट्टानलाई बलियो बनाइनेछ। साथै ठूला ढुङ्गा हटाउने, भिरको स्लोप व्यवस्थापन गर्ने र भित्रबाट रसाएर आउने पानीलाई बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ अर्थात् तेर्सो निकास प्रणाली निर्माण गरिनेछ।

पहिरो प्रभावित क्षेत्रको भूगर्भीय अवस्था र स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा ‘बायोइन्जिनियरिङ’ अर्थात् जैविक प्रविधिसमेत अपनाइनेछ।

सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माका अनुसार पहिरो नियन्त्रणका लागि नेलिङ प्रविधिलाई मुख्य आधार बनाएर अन्य पूरक प्रविधिसमेत प्रयोग गरिनेछ। सामान्य रूपमा ढुङ्गा पन्छाएर सडक खुलाउनेभन्दा पनि पहिरोको मूल कारण नियन्त्रण गरी भविष्यमा सडक अवरुद्ध हुने जोखिम घटाउने लक्ष्य राखिएको उनले बताए।

कम्तीमा १५ दिन काम गर्नुपर्ने अवस्था

गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुनः सुरु गर्न लागिएको हो। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा त्यहाँको कामलाई प्राथमिकता दिँदै तुइनखोलाको कामसमेत गरिएको थियो। तर, कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा पनि आवागमन सहज बनाउन रोकथामको काम रोकिएको सडक डिभिजनले जनाएको छ।

अब घोप्टेभीरको काम सम्पन्न भएपछि तुइनखोलामा पहिरो नियन्त्रणको कामलाई प्राथमिकता दिइनेछ।

प्रमुख इन्जिनियर शर्माका अनुसार तुइनखोलाको भौगोलिक तथा प्राविधिक अवस्था हेर्दा कम्तीमा १५ दिन सडक बन्द गरेर काम गर्नुपर्ने देखिएको छ। यद्यपि, विस्तृत प्राविधिक मूल्याङ्कनपछि कामको अवधि र आवश्यक समय निर्धारण गरिनेछ।

‘सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बाटो बन्द गरेर काम गर्नुपर्ने देखिन्छ। प्राविधिक मूल्याङ्कनपछि कति समय बन्द गरेर काम गर्ने भन्ने निर्णय हुनेछ। अहिले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो,’ उनले भने।

पोखरा जाने पृथ्वी राजमार्ग सञ्चालनमा रहने

यसैबीच, पृथ्वी राजमार्गको मुग्लिङनजिक घोप्टेभीरमा भइरहेको काम भोलिसम्म सम्पन्न हुने र त्यसपछि पर्सिदेखि उक्त राजमार्ग सञ्चालनमा आउने प्रमुख इन्जिनियर शर्माले जानकारी दिएका छन्। घोप्टेभीरको काम सकिएलगत्तै तुइनखोलामा पहिरो रोकथामको काम अघि बढाउने तयारी छ।

नारायणगढ–मुग्लिङ सडक बन्द हुँदा काठमाडौं हुँदै मुग्लिङ–आँबुखैरेनी भएर पोखरा जाने यात्रुका लागि भने पृथ्वी राजमार्ग सञ्चालनमा रहने प्रशासनले जनाएको छ।

दैनिक पाँच घण्टा सडक बन्द हुने निर्णयले लामो दूरीका यात्रु, मालवाहक सवारीसाधन, सार्वजनिक यातायात तथा अत्यावश्यक काममा हिँड्ने नागरिक प्रभावित हुने देखिएको छ। त्यसैले यात्रु तथा सवारीचालकलाई आफ्नो यात्रा समय र रुट व्यवस्थापन गरेर मात्रै यात्रा गर्न प्रशासनले आग्रह गरेको छ।

सडक बन्दका कारण यात्रुमा पर्न जाने असुविधाप्रति जिल्ला प्रशासन कार्यालय चितवनले क्षमायाचना गर्दै सम्बन्धित सबैलाई प्रशासनको सूचनाअनुसार यात्रा व्यवस्थापन गर्न अनुरोध गरेको छ।

वर्षौंदेखि यात्रु र सवारीचालकका लागि जोखिमपूर्ण बन्दै आएको तुइनखोलाको पहिरो नियन्त्रणमा यसपटक अपनाउन लागिएको प्राविधिक उपाय कति प्रभावकारी हुन्छ भन्ने चासोसमेत बढेको छ। सडकलाई पटक–पटक खुलाउने र बन्द गर्ने अस्थायी उपायभन्दा पहिरोको स्थायी समाधान खोज्नुपर्ने आवश्यकता बढिरहेका बेला सुरु हुन लागेको यो कामलाई महत्त्वका साथ हेरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार