- अवकाश, पेन्सन, बढुवा, सरुवा र पदपूर्तिदेखि सचिव नियुक्तिसम्म नयाँ व्यवस्था प्रस्तावित — ३०–५५ को प्रावधानदेखि ५८ बाट ६० वर्ष उमेर हद पुर्याउने विषयसम्म सर्वाधिक चर्चामा
काठमाडौं । नेपालको सार्वजनिक प्रशासनको संरचना, स्वरूप र कार्यशैली नै बदल्न सक्ने दूरगामी महत्वको संघीय निजामती सेवा विधेयक अब संसद्को छलफलमा प्रवेश गर्ने चरणमा पुगेको छ। संसद्को आसन्न हिउँदे अधिवेशनमा विधेयक अघि बढ्ने तयारीसँगै मुलुकको स्थायी सरकार मानिने कर्मचारीतन्त्रमा यसको सम्भावित प्रभावबारे बहस र चासो तीव्र हुन थालेको छ।
करिब डेढ दशकदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा ऐन निर्माणको प्रक्रिया निर्णायक चरणमा पुग्न लाग्दा यसले कर्मचारीको जागिर, अवकाश, पेन्सन, बढुवा, सरुवा, वृत्ति विकास र सेवा सुरक्षादेखि प्रशासनिक नेतृत्व चयनसम्मका विषयमा नयाँ बहस सिर्जना गरेको छ। विधेयकका कतिपय प्रावधानले कर्मचारीको भविष्य निर्धारण गर्ने भएकाले पनि यसको संसदीय छलफललाई आम कर्मचारीले निकै चासोका साथ हेरिरहेका छन्।
प्रस्तावित विधेयकमा १४८ वटा दफा छन्। तीमध्ये करिब ४५ वटा दफामा नयाँ व्यवस्था समेटिएका छन् भने कतिपय विद्यमान व्यवस्थालाई संशोधन र परिमार्जन गरिएको छ। यी प्रावधानले निजामती सेवाको विद्यमान संरचना र अभ्यासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने देखिन्छ।
विधेयकको सबैभन्दा बढी चर्चा र विवादमा रहेको विषय हो– एकपटकका लागि ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हदका आधारमा अवकाश दिने प्रस्ताव। विधेयकको दफा ५७ मा रहेको यो व्यवस्थाले ठूलो संख्यामा कर्मचारीलाई एकैपटक अवकाशको बाटोमा पुर्याउन सक्ने भएकाले कर्मचारी वृत्तमा यसको पक्ष र विपक्षमा बहस भइरहेको छ। संक्रमणकालीन व्यवस्थाका रूपमा ३०–५५ को प्रावधान लागू गरेपछि अवकाश उमेरलाई क्रमशः ५८ बाट ६० वर्ष पुर्याउने प्रस्ताव पनि उत्तिकै चर्चामा छ।
त्यस्तै, ३० वर्ष सेवा अवधि पूरा भएपछि निवृत्तिभरणको सुविधामा हुने परिवर्तन, पेन्सन गणना, कर्मचारीको सेवा सुरक्षासम्बन्धी व्यवस्था र सेवाबाट हटाउने प्रक्रियाले पनि कर्मचारीको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्नेछन्।
सचिवदेखि महानिर्देशकसम्म बाहिरबाट ल्याउने प्रस्तावले बहस
विधेयकमा प्रस्तावित अर्को महत्वपूर्ण र विवादास्पद विषय हो– निजामती सेवाका उच्च तथा कार्यकारी पदमा बाहिरबाट समेत नियुक्ति गर्न सकिने व्यवस्था। सचिव, सहसचिव तथा महानिर्देशकस्तरका पदमा बाह्य क्षेत्रबाट जनशक्ति ल्याउन सकिने प्रस्तावले निजामती सेवाभित्र वृत्ति विकास, प्रतिस्पर्धा, विशेषज्ञता र प्रशासनिक नेतृत्वको परम्परालाई लिएर नयाँ बहस सिर्जना गरेको छ।
लामो समय सेवा गरेर अनुभव र योग्यता हासिल गरेका कर्मचारीको वृत्ति विकासको अवसर कति सुरक्षित हुन्छ भन्ने प्रश्न पनि यससँग जोडिएको छ। अर्कोतर्फ, सार्वजनिक प्रशासनमा नयाँ ज्ञान, दक्षता र विशेषज्ञता भित्र्याउन यस्तो व्यवस्था आवश्यक छ कि छैन भन्ने विषयमा पनि संसद्ले गम्भीर छलफल गर्नुपर्ने देखिन्छ।
बढुवा, सरुवा र पदपूर्तिमा नयाँ मापदण्ड
विधेयकले कर्मचारीको पदपूर्ति, नियुक्ति, पदस्थापन, परीक्षणकाल, सरुवा र बढुवासम्बन्धी व्यवस्थामा समेत नयाँ आधार प्रस्ताव गरेको छ। पदपूर्तिमा बन्देज, पदस्थापनाका आधार, ज्येष्ठता निर्धारण, बढुवाका मापदण्ड र कार्यसम्पादन मूल्यांकनमा गरिएको परिमार्जनले कर्मचारीको वृत्ति विकासको बाटो नै प्रभावित पार्न सक्छ।
तह वृद्धि, श्रेणी र तहको संरचना, पद सिर्जना तथा दरबन्दी व्यवस्थापन, पदपूर्तिको विशेष व्यवस्था र कार्यसम्पादन सम्झौतासम्बन्धी प्रावधानले कर्मचारी व्यवस्थापनलाई थप व्यवस्थित र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ। तर यी व्यवस्था व्यवहारमा कति निष्पक्ष, पारदर्शी र अनुमानयोग्य हुन्छन् भन्ने कुरा कार्यान्वयनको स्वरूपमा निर्भर रहनेछ।
सरुवा प्रणालीलाई व्यवस्थित बनाउने, सचिव तथा मुख्य सचिवको पदावधि निर्धारण गर्ने र नेतृत्व चयनमा नयाँ आधार तय गर्ने प्रस्तावले प्रशासनिक नेतृत्वको स्थायित्व र जवाफदेहिताबारे पनि बहस निम्त्याउने निश्चित छ।
कर्मचारीको सेवा सुविधादेखि स्वास्थ्य बीमासम्म नयाँ व्यवस्था
विधेयकमा कर्मचारीको तलबभत्ता, तह वृद्धि, अभिलेखीकरण, औषधोपचार खर्च, स्वास्थ्य बीमा, आवास सुविधा, सवारी सुविधा तथा विशेष सुविधासम्बन्धी प्रावधानसमेत समेटिएका छन्। यी व्यवस्थाले कर्मचारीको सेवा सुविधा र सामाजिक सुरक्षामा कस्तो प्रभाव पार्छ भन्ने विषय पनि संसद्को छलफलको महत्वपूर्ण पक्ष बन्नेछ।
यसैगरी उमेर गणना, निवृत्तिभरण, बेपत्ता भएका कर्मचारीको निवृत्तिभरण, योगदानमा आधारित निवृत्तिभरण, तालिम, वैदेशिक अध्ययन तथा तालिम, अध्ययन भ्रमण र अन्यत्र नोकरी वा सेवा गर्न नहुने व्यवस्थामा समेत नयाँ प्रावधान प्रस्ताव गरिएको छ।
कर्मचारीलाई सेवाबाट हटाउने आधार र प्रक्रिया पनि परिमार्जन गर्न खोजिएको छ। यसले कर्मचारीको अनुशासन र प्रशासनिक उत्तरदायित्व बढाउने तथा सेवा सुरक्षालाई सन्तुलित बनाउने विषयमा संसद्को ध्यान आकर्षित गर्नेछ।
संघीयता कार्यान्वयनको आधार : प्रदेश र स्थानीय सेवासँगको सम्बन्ध
संघीय निजामती सेवा विधेयक केवल संघीय कर्मचारीको सेवा सर्त र सुविधासँग मात्र सम्बन्धित छैन। यो संघीय शासन प्रणालीअनुरूप तीनै तहको प्रशासनिक संरचना र अन्तरसम्बन्ध व्यवस्थित गर्ने महत्वपूर्ण कानुनी आधारसमेत हो।
विधेयकमा प्रदेश निजामती सेवा, स्थानीय सेवा तथा संघ, प्रदेश र स्थानीय तहबीचको प्रशासनिक सम्बन्धका विषयलाई पनि समेटिएको छ। नेतृत्व परीक्षण, कार्यसम्पादन मापन, सुशासन तथा सदाचार इकाइ र विद्युतीय प्रणालीको प्रयोगसम्बन्धी व्यवस्थाले प्रशासनलाई प्रविधिमैत्री, उत्तरदायी र परिणाममुखी बनाउने लक्ष्य राखेको देखिन्छ।
तर तीनै तहका सरकारबीच कर्मचारी व्यवस्थापन, अधिकार क्षेत्र, सरुवा तथा समन्वयका विषयमा स्पष्टता कायम गर्न नसकिए संघीयताको प्रशासनिक आधार नै कमजोर बन्न सक्ने भएकाले यसतर्फ पनि सांसदहरूले विशेष ध्यान दिनुपर्ने प्रशासनविद्हरूको सुझाव छ।
संसद्ले कर्मचारीको मात्र होइन, मुलुकको प्रशासनिक भविष्य हेर्नुपर्ने
संघीय निजामती सेवा ऐनलाई प्रशासनिक संघीयताको प्रमुख आधारस्तम्भका रूपमा लिइन्छ। त्यसैले यो ऐन केवल कर्मचारीका सेवा, सुविधा र वृत्ति विकासको दस्तावेज मात्र नभई राज्यको प्रशासनिक क्षमता, सार्वजनिक सेवा प्रवाह र शासन प्रणालीको प्रभावकारिता निर्धारण गर्ने महत्वपूर्ण कानुन पनि हो।
प्रशासनविद्हरूले लामो समयदेखि प्रतीक्षामा रहेको ऐन ल्याउन अब थप ढिलाइ गर्न नहुनेमा जोड दिँदै विधेयकका विवादित र दूरगामी प्रभाव पार्ने प्रावधानमा भने पर्याप्त छलफल हुनुपर्ने बताएका छन्। कर्मचारीतन्त्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त, व्यावसायिक, सक्षम, निष्पक्ष र नागरिकप्रति उत्तरदायी बनाउने उद्देश्य ऐनको केन्द्रमा हुनुपर्ने उनीहरूको धारणा छ।
संसद्ले कर्मचारीका जायज सरोकार, प्रशासनिक आवश्यकताहरू, संघीयताको मर्म र नागरिकले पाउनुपर्ने गुणस्तरीय सेवाबीच सन्तुलन कायम गर्नुपर्ने चुनौती छ। कुनै एउटा समूह वा वर्गको तत्कालीन स्वार्थभन्दा माथि उठेर दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर ऐन निर्माण गर्नु अहिलेको आवश्यकता हो।
विधेयकका १४८ वटै दफामा आवश्यकताअनुसार छलफल गर्दै नयाँ र संशोधित व्यवस्थालाई स्पष्ट, व्यावहारिक र कार्यान्वयनयोग्य बनाउन सके मात्रै संघीय निजामती सेवा ऐन प्रशासनिक सुधारको कोसेढुंगा बन्न सक्छ।
विधेयकका महत्वपूर्ण ४५ नयाँ तथा संशोधित प्रावधानको सूची यसप्रकार छ :

















प्रतिक्रिया