ADVERTISEMENT

निजामतीपछि अब प्रहरीमा पनि ३०–५५ लागू गर्ने तयारी, ५५ वर्ष पुगेका प्रहरीलाई पनि अवकाश !

एकैपटक पुराना जनशक्ति हटाउने सरकारी गृहकार्य, शिक्षक र स्वास्थ्य सेवामा समेत विस्तार गर्ने योजना

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा समेटिएको विवादास्पद ‘३०–५५’ प्रावधान अब प्रहरी सेवामा पनि लागू गर्ने तयारी भइरहेको छ । सरकारले निर्माणाधीन संघीय प्रहरी ऐनमा समेत एकपटकका लागि ३० वर्ष सेवा अवधि पुगेका वा ५५ वर्ष उमेर पूरा गरेका प्रहरी कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था राख्ने गरी गृहकार्य अघि बढाएको छ ।

गृह मन्त्रालयका अधिकारीहरूका अनुसार संघीय प्रहरी ऐनमा यस्तो प्रावधान समेट्ने विषयमा छलफल भइरहेको छ । प्रस्तावित व्यवस्थाअनुसार ३० वर्ष सेवा अवधि पूरा नगरेका तर ५५ वर्ष उमेर पुगिसकेका प्रहरी कर्मचारीलाई समेत एकपटकका लागि अवकाश दिन सकिनेछ ।

हाल नेपाल प्रहरीमा ३० वर्ष सेवा अवधि पूरा भएपछि स्वतः अवकाश हुने व्यवस्था छ । तर, २९ वर्ष सेवा अवधि पूरा गरेका र उमेरका हिसाबले ५५ वर्ष नाघिसकेका प्रहरी कर्मचारीलाई समेत अवकाश दिने गरी नयाँ व्यवस्था गर्न लागिएको गृह मन्त्रालयका एक अधिकारीले प्रशासनपोस्टलाई बताए ।

‘निजामती सेवामा मात्रै होइन, प्रहरी सेवामा पनि एकपटकका लागि ३०–५५ को व्यवस्था लागू गर्ने विषयमा गृहकार्य भइरहेको छ,’ गृह मन्त्रालयका ती अधिकारीले भने, ‘सरकारको सोचअनुसार पुराना जनशक्तिलाई एकैपटक बिदाइ गर्ने गरी कानुनी व्यवस्था मिलाउन छलफल भइरहेको छ ।’

सरकारले यसअघि नै संघीय निजामती सेवा विधेयकमा ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई एकपटकका लागि अवकाश दिने प्रावधान समेटिसकेको छ । उक्त व्यवस्थालाई लिएर निजामती क्षेत्रमा बहस र विवाद जारी रहेकै बेला प्रहरी सेवामा समेत यस्तै प्रावधान ल्याउने तयारी भएको हो ।

सबै सरकारी सेवामा विस्तार गर्ने सरकारी योजना

सरकारी अधिकारीहरूका अनुसार ३०–५५ को व्यवस्था निजामती र प्रहरी सेवामा मात्रै सीमित राख्ने सरकारको योजना छैन । क्रमशः शिक्षक, स्वास्थ्य सेवा तथा अन्य सरकारी सेवा र संगठनमा समेत यस्तै प्रकृतिको व्यवस्था लागू गर्ने विषयमा छलफल भइरहेको छ ।

सरकारले विभिन्न सेवामा लामो समयदेखि कार्यरत जनशक्तिलाई एकैपटक बिदाइ गर्दै नयाँ जनशक्तिका लागि अवसर सिर्जना गर्ने उद्देश्यले यस्तो व्यवस्था अघि बढाउन खोजेको स्रोतको भनाइ छ ।

यदि प्रस्तावित व्यवस्था कार्यान्वयनमा आएमा निजामती प्रशासनपछि नेपाल प्रहरी, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा समेत ठूलो संख्यामा कर्मचारी प्रभावित हुन सक्नेछन् ।निजामती सेवामा समेत ३०–५५ को व्यवस्थाले कर्मचारीको सेवा अवधि, वृत्ति विकास, पेन्सन तथा प्रशासनिक अनुभवमा पार्ने प्रभावबारे बहस भइरहेका बेला प्रहरीलगायत अन्य सेवामा पनि यस्तै व्यवस्था विस्तार गर्ने सरकारी तयारीले थप चासो पैदा गरेको छ ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार