काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदान दिउँसो १ बजेसम्मका लागि सरेको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार निर्वाचनको तयारी पूरा नभएपछि मतदानको समय सारिएको हो। यसअघि बिहान ७ बजे हुने भनिएको मतदान वर्षा तथा प्राविधिक कारणले बिहान १० बजेका लागि सारिएको थियो।
कांग्रेस महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। मतदानका लागि काठमाडौंका राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा सात मतदान केन्द्र तोकिएको छ।
बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभागृह, गण्डकी र लुम्बिनीका प्रतिनिधिले प्रज्ञा भवन तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिले खुलामञ्चमा मतदान गर्ने व्यवस्था गरिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका प्रतिनिधिले पनि खुलामञ्चमै मतदान गर्नेछन्।
प्रतिनिधिको परिचय र मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।





प्रतिक्रिया