रातभर वर्षा , के छ अहिले देशभरको अवस्था ? गृहसचिव केदारनाथ शर्मासँग प्रशासनपोस्टको जिज्ञासा :रातभरको वर्षाले देशभर सडक ठप्प, गृहप्रशासन ‘हाई अलर्ट’मा

राजमार्ग करिब–करिब सबै बन्द छन्, ७७ वटै जिल्ला प्रशासन र सुरक्षा निकाय स्ट्यान्डबाईमा छन्,अहिले सम्म त्यस्तो अप्रिय घट्ना घटेको छैन्, मानवीय क्षति भएको छैन् :गृहसचिव शर्मा


काठमाडौं । देशका विभिन्न क्षेत्रमा रातभरदेखि लगातार भइरहेको वर्षाका कारण सडक यातायात प्रभावित बनेको छ। वर्षाका कारण विभिन्न राजमार्ग तथा सडकखण्डमा पहिरो जाने क्रम बढेपछि लामो दूरीको यातायातमा थप जोखिम देखिएको छ।

पछिल्लो अवस्थाबारे प्रशासनपोस्टले गृहसचिव केदारनाथ शर्मासँग जिज्ञासा राख्दा उनले देशभरको विपद् व्यवस्थापन संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखिएको जानकारी दिएका छन्।

गृहसचिव शर्माका अनुसार अहिले राजमार्गहरू करिब–करिब सबै बन्द अवस्थामा छन्। पृथ्वीराजमार्गका केही स्थानमा पहिरो गएको विवरण प्राप्त भएको छ भने बीपी राजमार्गसमेत अवरुद्ध भएको जानकारी गृह प्रशासनमा आएको छ। अन्य विभिन्न सडकमार्गमा पनि पहिरो गएको सूचना प्राप्त भइरहेको उनले बताए।तर, अहिलेसम्म बाढी तथा पहिरोबाट ठूलो मानवीय क्षति भएको विवरण प्राप्त नभएको गृहसचिव शर्माले स्पष्ट पारेका छन्।‘देशका धेरै ठाउँमा हिजोदेखि अहिलेसम्म लगातार पानी परिरहेको छ। स्थिति प्रतिकूल हुन सक्छ। हामी र हाम्रो संयन्त्र सोहीअनुसार प्रतिकार्यमा जुटिरहेका छौँ,’ गृहसचिव शर्माले प्रशासनपोस्टसँग भने।

उनका अनुसार सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई स्ट्यान्डबाई अवस्थामा राखिएको छ। स्थानीय तहदेखि सुरक्षा निकायसम्मको संयन्त्रलाई आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको गृह प्रशासनको भनाइ छ।

‘अहिलेको पहिलो प्राथमिकता मानिसको जीवन बचाउनु हो’

गृहसचिव शर्माले विपद्को सम्भावित जोखिमबीच गृह प्रशासनको अहिलेको पहिलो प्राथमिकता मानवीय जीवनको सुरक्षा भएको बताएका छन्।‘अहिले सम्म त्यस्तो ठूलो मानवीय क्षतिको कुनै विवरण आएको छैन। हाम्रो अधिकतम ध्यान मानिसको जीवन बचाउनु नै हो। त्यसैका लागि सिंगो गृह प्रशासन संयन्त्र खटिरहेको छ,’ उनले भने।

उनका अनुसार वर्षा जारी रहेकाले सडक तथा राजमार्गमा थप पहिरो तथा अन्य जोखिम आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर प्रशासन र सुरक्षा निकायलाई निरन्तर निगरानी तथा प्रतिकार्यका लागि तयार राखिएको छ।

पृथ्वीराजमार्गका केही स्थानमा पहिरो गएको र बीपी राजमार्गसमेत अवरुद्ध भएको जानकारी प्राप्त भएको गृहसचिव शर्माले बताए।

विभिन्न सडकखण्डमा पहिरो गएको सूचना आइरहेको भए पनि अहिलेसम्म ठूलो तथा भीषण पहिरोका कारण मानवीय क्षति भएको जानकारी प्राप्त नभएको उनको भनाइ छ।गृहसचिव शर्माका अनुसार मौसम अनुकूल हुनासाथ सम्बन्धित निकाय परिचालन गरी अवरुद्ध सडक खुलाउने काम अघि बढाइनेछ।‘पहिरो गएको ठाउँमा हामी यातायात खुल्ने अवस्था र मौसम अनुकूल हुनासाथ पहिरो हटाउँछौँ,’ उनले भने।

लामो दूरीको यात्रा नगर्न नागरिकलाई आग्रह

लगातारको वर्षा र सडक अवरोधका कारण सरकारले यसअघि नै लामो दूरीको यात्रा नगर्न गरेको आग्रहलाई नागरिकले पालना गर्नु सकारात्मक भएको गृहसचिव शर्माले बताएका छन्।उनका अनुसार प्रतिकूल मौसमका बेला अनावश्यक यात्रा नगर्नु नै सम्भावित मानवीय क्षति न्यूनीकरणको महत्वपूर्ण उपाय हो।‘आम नागरिकहरूले पनि सरकारको आग्रह मानेर लामो दूरीको यात्रामा निस्कनुभएको छैन। यो निकै सकारात्मक हो,’ गृहसचिव शर्माले भने।उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै परेमा पनि उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।‘बाहिर पनि खासै काम नपर्दासम्म ननिस्कन र निस्कनै परे निकै सतर्क हुन हामी हाम्रा दाजुभाइ तथा दिदीबहिनीलाई विशेष आग्रह गर्छौँ,’ उनले भने।

७७ जिल्लामा प्रशासन र सुरक्षा संयन्त्र तयारी अवस्थामा

गृहसचिव शर्माका अनुसार सम्भावित बाढी, पहिरो तथा अन्य विपद्को अवस्थालाई ध्यानमा राखेर ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई हरपल स्ट्यान्डबाई अवस्थामा राखिएको छ।

स्थानीय अवस्था हेरी तत्काल उद्धार, राहत तथा सडक खुलाउने कार्यमा सम्बन्धित संयन्त्र परिचालन गर्ने गरी तयारी गरिएको गृह प्रशासनको भनाइ छ।

गृहसचिव शर्माले सम्भावित विपद्को सामना सरकारको एक्लो प्रयासबाट मात्र सम्भव नहुने भन्दै नागरिकको सहयोग र सहकार्य पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन्।‘सबैको सामूहिक सहयोग र सहकार्यबाट यो सम्भावित विपद्को सामना गर्नुपर्छ। क्षति हुन दिनु हुँदैन,’ गृहसचिव शर्माले भने।

प्रशासनपोस्टको अपिल : मौसम प्रतिकूल छ, सतर्कता नै सुरक्षा हो

रातभरको लगातार वर्षापछि देशका विभिन्न क्षेत्रमा सडक अवरोध र पहिरोको जोखिम बढेको अवस्थामा नागरिकले अत्यावश्यक कामबाहेक यात्रा नगर्नु, जोखिमयुक्त सडक तथा नदीकिनारबाट टाढा रहनु र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका सूचनालाई पालना गर्नु आवश्यक देखिएको छ।

गृह प्रशासनले ७७ वटै जिल्लाको संयन्त्रलाई स्ट्यान्डबाईमा राखेको जनाएको छ। यद्यपि मौसम अझै प्रतिकूल रहन सक्ने भएकाले सडक तथा भौगोलिक अवस्थाअनुसार जोखिम परिवर्तन हुनसक्ने देखिन्छ।

अहिलेसम्म ठूलो मानवीय क्षतिको विवरण नआए पनि वर्षा जारी रहेकाले सम्भावित जोखिमप्रति सतर्क रहनु नै सबैभन्दा महत्वपूर्ण देखिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार