सुशीला कार्की सरकारका अर्थमन्त्रीको स्वर्णिमलाई कटाक्ष –ब्लिसफुल्ली अनवेयर, हरे !

भोटेकोशीमा सयौँको मृत्यु, हजारौँ बेपत्ता हुँदा अर्थमन्त्री वाग्ले पार्टीमा !संकटको घडीमा अर्थमन्त्रीको ‘पार्टी मुड’को तस्वीर भाइरल, सामाजिक सञ्जालमा चर्को आलोचना


काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीले मुलुक शोक र संकटमा डुबिरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्लेको पार्टीमा रमाइरहेको देखिने तस्वीर सार्वजनिक भएपछि त्यसले सरकारको संवेदनशीलता र जिम्मेवारीमाथि नै प्रश्न उठाएको छ ।

बाढीमा सयौँ मानिसको ज्यान गएको, ठूलो संख्यामा मानिस बेपत्ता भएको र करोडौँ–अरबौँको भौतिक क्षति भएको अवस्थामा अर्थमन्त्री वाग्ले कुनै भव्य होटलमा आयोजित पार्टीमा सहभागी भएको देखिने तस्वीर अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ । तस्वीर सार्वजनिक भएपछि सरकारका मन्त्रीले राष्ट्रिय विपत्तिको समयमा देखाउनुपर्ने संवेदनशीलतामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

यही तस्वीर र त्यसबाट उत्पन्न बहसलाई लक्षित गर्दै पूर्वअर्थमन्त्री रामेश्वर खनालले फेसबुकमा छोटो तर अर्थपूर्ण टिप्पणी गरेका छन्– ब्लिसफुल्ली अनवेयर, हरे !

खनालको यो टिप्पणीमा उनले कसैको नाम उल्लेख नगरे पनि त्यसअघि सामाजिक सञ्जालमा चर्चामा आएको अर्थमन्त्री वाग्लेको पार्टीको तस्वीरसँग जोडेर हेर्दा टिप्पणी वाग्लेतर्फ नै लक्षित भएको बुझिन्छ ।

‘ब्लिसफुल्ली अनवेयर, को अर्थ हुन्छ– आफू वरिपरि भइरहेको गम्भीर समस्या, संकट वा वास्तविकताबारे पूर्णतः बेखबर भएर पनि आफू भने ढुक्क, खुसी वा रमाइलो अवस्थामा रहनु। खनालको दुई शब्दको यही टिप्पणी अहिले सामाजिक सञ्जालमा बहसको विषय बनेको छ ।खनाल पूर्व अर्थ मन्त्री तथा जेनजी आन्दोलन पछि निर्वाचन गराउने मुख्य भुमिकामा रहेको सुशील कार्की नेतृत्वको सरकारका शक्तिशाली मन्त्री समेत हुन् । निर्वाचन समयमा नै सम्पन्न गराउन खनालको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

देश विपत्तिमा, मन्त्री पार्टीमा !

भोटेकोशीको बाढीले देशको ठूलो भूभागलाई त्रसित बनाइरहेको समयमा सरकारका जिम्मेवार मन्त्री सार्वजनिक रूपमा पार्टीमा रमाइरहेको देखिने तस्वीर बाहिर आउनुले प्रश्न उठ्नु स्वाभाविक भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको प्रतिक्रिया छ ।

विशेषगरी अर्थमन्त्रीको जिम्मेवारीमा रहेका व्यक्तिले विपत्तिका कारण अर्थतन्त्र, निजी क्षेत्र, पूर्वाधार, स्थानीय अर्थतन्त्र र प्रभावित नागरिकमा पर्न सक्ने गम्भीर असरको मूल्याङ्कन तथा राहत–पुनःस्थापनाका विषयमा सक्रियता देखाउनुपर्ने बेला पार्टीको तस्वीर सार्वजनिक हुनुले आलोचनालाई थप बल दिएको छ ।

भोटेकोशी क्षेत्रमा घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । परिवारका सदस्य गुमाएका र आफन्तको खोजीमा रहेका नागरिकको पीडा चरम अवस्थामा रहेका बेला सरकारका जिम्मेवार व्यक्तिको सार्वजनिक गतिविधि कस्तो हुनुपर्छ भन्ने प्रश्न पनि यही घटनाले उठाएको छ ।

यद्यपि, तस्वीर कुन समयमा खिचिएको हो, पार्टी कार्यक्रमको प्रकृति के थियो र तस्वीर सार्वजनिक हुँदाको अवस्थासँग त्यसको प्रत्यक्ष सम्बन्ध के हो भन्ने विषय स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ । तर राष्ट्रिय विपत्तिको संवेदनशील समयमा सार्वजनिक भएको तस्वीरले राजनीतिक तथा प्रशासनिक नेतृत्वको ‘संकटप्रतिको संवेदनशीलता’माथि भने गम्भीर बहस जन्माएको छ।

खनालको एक वाक्य, वाग्लेमाथि ठूलो प्रश्न

पूर्वअर्थमन्त्री खनाल स्वयं प्रशासन र अर्थतन्त्रका जानकार तथा सार्वजनिक नीतिका विषयमा लामो समयदेखि सक्रिय व्यक्तिका रूपमा चिनिन्छन् । त्यसैले उनले लेखेको ब्लिसफुल्ली अनवेयर, हरे ! भन्ने छोटो टिप्पणीलाई सामान्य सामाजिक सञ्जाल प्रतिक्रियाभन्दा अर्थपूर्ण रूपमा हेरिएको छ ।

यतिबेला भोटेकोशीको पीडामा देश रोइरहेको छ । प्रभावित क्षेत्रमा उद्धारका लागि जनशक्ति र स्रोतसाधनको अभाव छ । आफन्त गुमाएका परिवारहरू शोकमा छन् । बेपत्ता नागरिकको खोजी भइरहेको छ । राज्यका संयन्त्रहरू संकट व्यवस्थापनमा परिचालित छन् ।

यस्तो अवस्थामा सरकारको नेतृत्व तहका व्यक्तिहरूको हरेक सार्वजनिक गतिविधि स्वाभाविक रूपमा नागरिकको निगरानीमा पर्छ ।

त्यसैले अहिले प्रश्न केवल एउटा तस्वीरको होइन– विपत्तिको घडीमा राज्यको नेतृत्व कति संवेदनशील छ भन्ने प्रश्न हो।

 

२०८३ भाद्र १२, शुक्रबार १९:०८ प्रकाशित
ट्रेन्डिङ समाचार